काठमाडौं, २६ भदौ । उपचारका लागि अस्पताल पुगेकी गर्भवती महिलाले अस्पतालको मूलगेटमै शिशु जन्माएको घटनामा सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालले चिकित्सक र नर्ससहित ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ ।
अस्पताल प्रशासनका अनुसार डा. उषा देव, स्टाफ नर्स मनिषाकुमारी साह, सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, सफाइ कर्मचारी कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई छानविन समितिको प्रतिवेदन नआउँदासम्म कामकाजबाट अलग गरिएको हो ।
घटनाको निष्पक्ष छानविन गर्न सम्बन्धित कर्मचारीलाई तत्काल जिम्मेवारीबाट अलग गरिएको अस्पतालले जनाएको छ । छानविन समितिले प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा थप कारबाही अघि बढाइने अस्पताल प्रशासनको भनाइ छ ।
यसअघि शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा घटनाका बेला ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई निलम्बन गरी छानविन अघि बढाइएको जानकारी दिएकी थिइन् ।
बुधबार बिहान ३० वर्षीया बबिताकुमारी पासवान सुत्केरी व्यथा लागेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन् । तर, उनले अस्पतालको मूलगेटमै शिशु जन्माएकी थिइन् । घटनाको भिडियो बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयसहित सम्बन्धित निकायले घटनाबारे छुट्टाछुट्टै छानविन प्रक्रिया अघि बढाएका छन् ।
अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको गेटमै शिशु जन्माउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषय अहिले मुख्य प्रश्न बनेको छ । घटनामा ड्युटीमा रहेका स्वास्थ्यकर्मीको सम्भावित लापरबाहीसँगै अस्पतालको व्यवस्थापन, आकस्मिक सेवा, बिरामीको उपचार प्रक्रिया तथा समग्र सेवा प्रवाहमा देखिएका कमजोरीबारे समेत छानविन हुने भएको छ ।
६ कर्मचारीलाई जिम्मेवारीबाट हटाउने निर्णयले तत्कालका लागि घटनामा संलग्न कर्मचारीमाथि छानविनको बाटो खोले पनि घटनाको मूल कारण व्यक्ति विशेषको लापरबाही मात्र हो वा अस्पतालको समग्र प्रणालीमै कमजोरी छ भन्ने विषय छानविन प्रतिवेदनपछि मात्र स्पष्ट हुने देखिएको छ ।
