भक्तपुर । भनिन्छ कुनै पनि ठाउँमा सवल र सक्षम नेतृत्व र सारथी कर्मचारी छन भने सफलता प्राप्त गर्न लामो समय कुनै पर्दैन । यो एउटा भनाइलाई लामो इतिहास बोकेको भक्तपुर अस्पतालले फेरि पनि पुष्टि गरेको छ । बागमती प्रदेश मातहत रहेको भक्तपुर अस्पताल फेरी पनि ९७ अंक सहित प्रदेशस्तरीय अस्पतालमा सबै भन्दा अब्बल र सर्वोत्कृष्ट अस्पतामा कहलिएको छ याे अस्पताल देश भरिकै अस्पतालहरूमा पहिलाे र देश भरिकै सेकेन्डरीअस्पतालमा पनि पहिलाे बन्न सफल भएकाे हाे ।
भक्तपुर अस्पताल न्युनत्तम सेवा मापदण्डको आधारमा गरिएको मूल्यांकनमा ९७ अंक प्राप्त गरी सर्वोत्कृष्ट अस्पताल कहलिएको हो । विक्रम सम्बत १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल स्थापनाका आधारमा नेपालकै दोस्रो हो । यो अस्पताल वीर अस्पताल पछि स्थापना भएको थियो ।
विगत लामो समयसम्म कर्मचारी भर्तिकेन्द्र,सत्तामा रहेका राजनीतिक दलहरुका आफ्ना भोटरहरु र आफन्तलाई जागिर खुवाउने थलो र कर्मचारीहरुको घाम ताप्ने केन्द्र बनेको अस्पताल रिफर सेन्टरको रुपमा धेरैले चिनेका थिए । तर डाक्टर सुमित्रा गौतमलाई मेसुको रुपमा पाएपछि भक्तपुर अस्पतालले स्वरुप फेरेको छ । नाम उल्लेख नगर्ने सर्तमा एक जना स्थानीयले बताए । उनले भने ¨पहिले–पहिलेका मेसुहरु त लुटन मात्रै आएका हुन । डाक्टर गौतम भने आफै पनि गोल्डमेडालिष्ट अनि अस्पताललाई पनि गोल्ड जस्तै बनाइन ।
उनले सिन्धुली अस्पतालमा पनि आफ्नो क्षमता प्रदर्शन गर्दै सबल अस्पताल बनाएको जगजायरै छ । अझ उनकै विरुद्ध धेरै शक्तिहरु चलायमान भए तर पनि भगवानले उनलाई साथ दिएको छ । अझै उनलाई दुःख दिन मानिसहरु लागेकै होलान, कमाण्ड भनेको त त्यस्तो पो हो त जसले नतिजा दिन्छ ”, होइन सर ? भन्दै उनले प्रश्न गरे ।
शनिबार अस्पतालहरुको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्नेक्रममा आएको एक सरकारी मूल्यांकन टोलीले ३ दिन लगाएर न्युनत्तम सेवा मापदण्ड मूल्यांकनको नर्म्स अनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरी अब्बल र सक्षम अस्पतालको उपाधि पाएपछि आफ्नो पनि खुशीको सिमा नरहेको उनले बताए ।
अस्पताल व्यवस्थापन सुदृढिकरण अन्तर्गत न्युनतम सेवा मापदण्ड कार्यान्वन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा.पवन साह,कान्ति बाल अस्पतालकी नर्सिङ्ग प्रमुख रोशनी तुइतुइ, स्वास्थ्य विभागकी मिरा निरौला लगायतको मूल्यांकन टोलीले मूल्यांकन गरेको थियो । सामुहिक एकताले मात्रै अस्पतालको सेवा र विकासले प्राथमिकता पाएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतम बताइन । उनले अस्पतालका सबै कर्मचारीहरुको मिहिनेतले मात्रै उत्कृष्ट नतिजा प्राप्त भएकाले यो भारीलाई अझ अवसरका रुपमा लिने बताइन ।
अस्पतालको सेवालाई थप जनमुखी र सुविधासम्पन्न बनाउन मूल्यांकनले हौसला प्रदान गरेको अस्पताल संचालन तथा बिकास समितिका अध्यक्ष रमण कायस्थले बताए । उनले मिहिनेती विद्यार्थीलाई परीक्षाफलको कौतुहलता भएजस्तै आफूहरुले पनि अस्पताल बिकासमा धेरै काम गरेकाले मूल्यांकन परिणाम राम्रै आएको प्रक्रिया दिए । यो भन्दा पहिले पनि अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको थियो ।
