भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

बगरको उखुखेतीबाट राम्रो आम्दानी

बगरको उखुखेतीबाट राम्रो आम्दानी

कञ्चनपुर, । नदीको बगरमा उखुखेती गर्न थालिएपछि लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ । दोदा नदीको बगरमा उनले पाँच वर्ष अघिदेखि उखुखेती गर्दै आउनुभएको हो ।बगरमै उखुखेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा राना गाउँमा परिचित हुनुहुन्छ । डेढदशक अघि दोदा नदीमा आएको बाढीले उहाँसहित धेरै परिवारको जग्गा बगाएर बगरमा परिणत भएको थियो । नदीले जग्गा बगाएपछि रानालाई परिवार पाल्नकै लागि अन्यत्र भौतिरिनु पर्ने बाध्यता थियो ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाले नदीले बगर बनाएको जग्गामा उखुखेती गर्न सकिने सल्लाह दिनाका साथै बीउबिजन र प्राविधिक सल्लाह पनि दिएपछि राना परिवारले उखुखेती गर्दै आएको थियो । “उखुखेती गरेपछि घरखर्च चलाउनका लागि कतै जानै परेन” उनले भन्नुभयो, “उखु खेतीबाट राम्रै आम्दानी हुन थालेपछि यसैलाई नै निरन्तरता दिँदै आएका छौँ ।”

“धेरैजसो बालुवामा पानि उखुखेती हुन्छ ? भन्दै काम गर्न हच्किन्थे । बालुवामै उखु फलाएर गतिलो आम्दानी लिन थालेपछि नदीले जग्गा बगाएका अरु परिवार पनि उखु खेतीमा आवद्ध भएका छन्” रानाले भन्नुभयो,“उखुखेतीबाटै वार्षिक रुपमा रु तीन लाखदेखि पाँच लाखसम्म खर्च कटाएर बचत गर्दै आएका छौँ ।” बढी उत्पादन दिने उखुका नयाँ नयाँ जात खोजी गरी रोप्न थालेपछि आम्दानी पनि बर्सेनि बढ्दै जान थालेको उहाँको भनाइ थियो ।

“उखुबाट गतिलो आम्दानी मात्रै हात पारेका छैनौ” शुक्लाफाँटा नगरपालिका–१२ अगलीपट्टिका राम अवतार रानाले भन्नुभयो, “बगरमा उखु रोप्न थालेपछि नदीले बर्सेनि जग्गा कटानी गरेर दिने दुःखसमेत हटेर गएको छ ।” परियोजाका कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार कृष्णपुर, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा गरी ५४३ दशमलव दुुई बिघा जमिन र दोदा, स्याली, सनवोरालगायत नदीका बगरमा परियोजनाको सहयोगमा उखुखेती लगाउँदै आइएको छ ।

आव २०७७–७८ मा बगरमा लगाइएको उखुको उत्पादन ६३ हजार ७७२ क्वीन्टल भएको थियो । यसबाट किसानले रु तीन करोड ३४ लाख ८० हजार ३०० आम्दानी गरेका छन् । आव २०७६–७७ मा ३८ दशमलव ६७ बिघामा उखु लगाइएकामा रु तीन करोड २१ लाख ९२ हजार ४०१ आम्दानी भएको थियो । यसवर्ष ६० बिघा बगरमा उखु विस्तार गरिएकाले उत्पादन बढ्ने उनले बताए। सबैभन्दा बढी बगरमा उखु खेती बेलौरी र पुर्नवासमा गरी २०१, लालझाडी गाउँपालिकामा १२३, शुक्लाफाँटामा ४० र कृष्णपुरमा आठ बिघामा उखु खेती हुदै आएको छ ।

उखु खेतीलगायतमा परियोजनाले स्थानीय तहसँग मिलेर ५३ प्रतिशत रकम लगानी गरेको छ । संयोजक घिमिरेका अनुसार आब ०७७–७८ मा उखुसँगै किसानले अन्तरबालीका रुपमा तेलहन, दलहन र आलु बालीको खेती गरेर रु १० लाख ९३ हजार आम्दानी गरेका थिए । उखु खेती गर्दै आएका किसानलाई आवश्यक तालिमको व्यवस्थाका साथै उन्नत उखु खेती सम्बन्धी नमूना प्रर्दशनका कार्यसमेत गरिँदै आएको छ ।

“उखु किसानलाई प्राविधिक सल्लाह दिनका लागि कृषि प्राविधिक परिचालन गरेका छौँ” उहाँले भन्नुभयो, “उन्नत तरिकाले उखु खेती गर्नका लागि चिनी मिलसँगको सहकार्यमा भारतबाट कृषि विज्ञ बोलाई आवश्यक तालिमसमेत दिएका छौंँ। उखु खेतीका लागि आवश्यक औजार र उपकरणसमेत किसानलाई परियोजनाबाटै अनुदान स्वरुप उपलव्ध गराईएको छ ।”

बगरमा तरकारी खेती गरेर मात्रै किसानले आब ०७७–७८ मा रु ६३ लाख ६० हजार आम्दानी लिएका थिए यसैगरी बगर संरक्षण गरी किसानले खर बिक्रीबाट रु एक लाख ५७ हजार हात पारेका छन् । तिल्की र सिकलपट्टिका किसानले बगरमै केरा खेती गरेर रु एक लाख ५७ हजार रकम आम्दानी गरेका परियोजनाका कृषि प्राविधिक लक्ष्मण रानाले बताए ।

 


Thali Mobile Pvt.Ltd.