हेटौंडा । हेटौंडास्थित एक सहकारीका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
बचतकर्ताहरूकै उजुरीका आधारमा हेटौंडा उपमहानगरपालिका २ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष रामकृष्ण अधिकारी र कोषाध्यक्ष राजीव तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
दर्जनौं बचतकर्ताले सहकारीको पासबुकसहित उजुरी दिएकाले छानबिनका लागि अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
सहकारीको बचत रकम हिनामिना भएपछि बचतकर्ता र नियमित पैसा संकलन गर्ने कर्मचारी समस्यामा परेका छन् । सहकारीमा बचत गर्दै आएकी हेटौंडा–१८ की कमला बिडारी, हेटौंडा–२ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी सञ्चालकविरुद्ध साउन २४ मा उजुरी दिएका थिए ।
