ढोरपाटन । ‘बुट्टेनली’ भन्दा बित्तिकै बागलुङको नाम आउँछन् । कला र संस्कृतिले भरिपूर्ण बागलुङलाई ‘बुट्टेनली’ को जिल्लाका रुपमा लिइन्छ । ‘बुट्टेनली’ को प्रख्यात जिल्ला बागलुङमा पछिल्लो समय ओझेलमा परेको छ । कला संस्कृति नै सङ्कटमा पर्न थालेपछि साख जोगाउनै मुस्किल छ । बागलुङवासीले मायाको चिनो र कोसेलीका रुपमा पाहुनालाई दिने बुट्टेनली अहिले बन्न छाडेका छन् । ‘बुट्टेनली’ बनाउन बाँस, गजिङ, मालिङ र लेकाली भूङको काठमा हातले कुँदेर विभिन्न प्रकारका आकृति दिने गरिन्छ । ‘बुट्टेनली’ मा खासगरी विभिन्न देवीदेवता, व्यक्तिका चित्र, जङ्गली जनावर, मयूर, फूललगायत पौराणिक सांस्कृतिक झलक र प्राकृतिक र्सान्दर्यलाई कलात्मक शैलीमा बनाइएको हुन्थ्यो ।
पछिल्लो समय बुढापाकाले कलात्मकता दिन नसक्ने र युवा पुस्ताले सिक्न नचाहँदा ‘बुट्टेनली’ लोप हुँदै गएको बुढापाका बताउँछन् । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यसको माग र महत्व निकै भए पनि पछिल्लो समय बुट्टा भर्ने मान्छेको अभाव हुँदा ‘बुट्टेनली’ लोप भएको निसीखोला गाउँपालिका–६ का दलबहादुर घर्ती मगर बताउनुहुन्छ । उहाँले ‘बुट्टेनली’ बनाउने बुढापाका कलाकारहरुबाट नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यो लोप हुँदै गएको बताउनुभयो ।
“अहिलेका नयाँ युवापुस्ताले ‘बुट्टेनली’ बनाउनतर्फ चासो नै दिँदैनन्, हामीले पाका पुर्खाबाट सिक्यौँ, अहिलेका युवाले सिक्न खोज्दैनन्, घरमा एक÷दुईवटा बनाएर राखेको थियो, त्यो पनि इस्टमित्रलाई दिँदा सकियो,” उहाँले भन्नुभयो, “अहिले आँखा बसे, हात काम्छन् बनाउन मन लागे पनि बनाउन सक्दैन ।” आफूहरुले अग्रजबाट सिकेको चोयाबाट बन्ने विभिन्न सामग्रीहरुसमेत बनाउन जानेको सुनाउँदै अहिलेका युवा पुस्ताले पुराना कामहरु गर्न नजान्ने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “हामीहरु त सानैबाट लेकबेँसी गरौँ, पढ्न लेख्ने भन्ने चलन थिएन, गोठमा बस्ने, पशुचौपाया चराउने, ढोको, नाङ्लो बुन्ने ग¥यौँ, सानोतिनो भए पनि सीप सिक्यौँ, अहिलेका बालबच्चाहरु जन्मिँदा बित्तिकै स्कुल जान खोज्छन्, जमाना फेरिएर होला ।” स्थानीय पदमबहादुर बुढा मगरले अहिलेका मान्छेहरुमा बजार मोह बढेको भन्दै गाउँमा हुने कला, संस्कृति र परम्परा बिर्सिंदै गएको बताउनुभयो । उहाँले पछिल्लो समय पशुचौपाया पाल्ने र लेकबेँसी गर्नेको सङ्ख्या निकै कम भएको भन्दै ‘बुट्टेनली’, ढोको, नाङ्लोलगायत चोयाबाट बन्ने सामग्रीहरुसमेत बुन्न छाडेको बताउनुहुन्छ ।
“पहिलेका मान्छेहरुलाई सहर बजारभन्दा गाउँ प्यारो मान्छे, गाउँमा बस्ने, लेकबँेसी गर्ने, पशुचौपाया हेर्ने, बुट्टेनली, ढोको, नाङ्लो बनाउने गर्थे, अहिलेका मान्छेहरु बजारमा बस्न रुचाउँछन्, बजारमा विदेशबाट आएका सामानहरु प्रयोग गर्छन्”, बुढा मगरले भन्नुभयो, “बाहिरबाट आएका सामानले गर्दा स्थानीय स्तरमा बनेका सामानहरुको प्रयोग कम हुँदै गयो र बनाउन पनि छोडियो ।” स्थानीय निरबहादुर बुढा मगरले १०÷१२ अगाडि सम्म गाउँमा प्रशस्त मात्रामा ‘बुट्टेनली’ पाइने गरेकामा बुढापाकाहरुले बनाउन छोडेपछि लोप हुन थालेको बताउनुभयो । अहिले गाउँमा भेट्टाउनै मुस्किल पर्ने उहाँको भनाइ छ । देशका ठूलाठूला सहरहरुसँगै विदेशमा समेत पुग्ने गरेको उहाँले बताउनुभयो ।
बुढा मगरले पुस्ताहस्तान्तरण नहुँदा बुट्टेनली लोप हुँदै गएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बुट्टेनली गाउँमा कोही नयाँ पाहुना आएपछि कोसेली र मायाको चिनोका रुपमा दिने चलन थियो, विदेशमा पनि यसको निर्यात राम्रै हुन्थ्यो, तर अहिले त गाउँ घरमा पाउनै छोड्यो, बुढापाका भएको घरमा एक÷दुई ठाउँमा भएर होला नत्र भेट्टाउन मुस्किल पर्छ ।” उहाँले ‘बुट्टेनली’ जस्ता मौलिक संस्कृति बोकेका कलाहरुको संरक्षण गाउँपालिकाले गर्नुपर्ने बताउनुभयो । बुढा मगरले सिक्न चाहने युवालाई प्रेरित गर्ने र बुढापाकाबाट यो सीप हस्तातरण गर्न सके वर्षौंसम्म यसको संरक्षण हुने बताउनुहुन्छ ।
