बलात्कारका घटना मिलाउने वडाध्यक्ष सहित चार जना पक्राउ

बलात्कारका घटना मिलाउने वडाध्यक्ष सहित चार जना पक्राउ

बैतडी । सिगास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष शेरसिंह साउदसहित ४ जना पक्राउ परेका छन् ।  वडा नं ३ की एक १८ वर्षीया किशोरी बलात्कार घटनामा मिलापत्र गराएको आरोपमा उनीहरू पक्राउ परेका हुन । पक्राउ पर्नेमा राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामी रहेको बैतडी प्रहरीले जनाएको छ ।

गत बिहीबार मनोजसिंह धामी र अमर धामीलाई पक्राउ गरेको थियो । अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । घटनामा मुख्य आरोपित फरार रहेपछि घटनालाई ढाकछोप गर्ने वडाध्यक्षलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ।

बलात्कार घटनाका मुख्य आरोपित सिगास–३ का दीपकसिंह धामी फरार छन् । उनी पहिला नै भारत भागिसकेको प्रहरीले जनाएको छ। जेठमै भएको बलात्कार घटनामा असार १४ गते गाउँमै तमसुक बनाएर मिलापत्र गरेको हाे । आरोपित पक्षले कात्तिक मसान्तभित्र एक तोला सुन दिने सहमति जनाएको थियो । तर, सुन नदिएपछि बलात्कार घटना बाहिर आएको हो । घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीकाे भनाइ छ ।

त्यस्तै महोत्तरीको बर्दिबास–१२ बिजलपुरामा बलात्कार गरी बालिकालाई गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । बालिका बलात्कार आरोपमा प्रहरीले मंसिर ७ गते स्थानीय २१ वर्षीय ललन राउतलाई पक्राउ गरेको थियो। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा अघि बढाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

बालिका गत असारमा भैंसी चराउन घरनजिकै गएकी थिइन्। साँझ बजारदेखि मोटरसाइकलमा आएका आरोपीले हात समाई झाडीमा लगेर बालिकालाई बलात्कार गरेको पीडित परिवारकाे भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.