बाँके । जिल्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा दादुराका फैलिएको छ । दादुरा महामारीकै रूपमा फैलिएको चिकित्सकले बताएका छन् । हाल २ सय ६५ जना बिरामी फेला परेका छन् भने त्यसमा एक जना दादुरा बिरामी बालकको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा एक जनाको मृत्युुपश्चात संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी दादुरा प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा गए । १२ पुसमा पहिलो पटक नेपालगन्जको वडा नं ७ मा ६ जना बालबालिकामा दादुरा फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
२० पुसमा नेपालगन्ज ५ का २ वर्षका बच्चाको दादुराबाट मृत्यु भएको थियो । २२ पुसदेखि नै नेपालगन्जमा दादुराविरुद्धको खोप लगाउन सुरु गरियो । २४ पुसमा खजुरा गाउँपालिकामा दादुराका बिरामी फेला परे । ३ माघदेखि खजुरामा पनि दादुराको खोप लगाउन सुरु गरियो ।
४ माघमा नरैनापुर गाउँपालिकामा दादुराका बिरामी फेला परे । ५ माघदेखि नरैनापुरमा दादुराविरुद्धको खोप लगाउन थालियो । जिल्लाका पाँच स्थानीय तहमा गरी २ सय ६५ जना दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
