काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रोकीएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार निर्वाचन हुने भएको छ । नगरपालिकाका १० मतदान स्थलमा मतदानका लागि सुरक्षा प्रबन्ध कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन रोकिएको थियो ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको यस पालिकामा हरेक मतदान स्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।
बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता संख्या १२ हजार ६ सय ५९ रहेको छ । बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् । गत बैशाख ३० गते एमाले र नेपाली काँग्रेसका प्रतिनिधिहरुले चुनावमा धाँधली भएको भन्दै मतदान कार्यमा अवरोध सिर्जना गरेका थिए । मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।
