भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बाढीको त्रासले छिटुवा धान

बाढीको त्रासले छिटुवा धान

टीकापुर, । अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् । बाढीले धान खेती भित्र्याउन नपाएका किसानले यस वर्ष लगानी खेर नफाल्ने भन्दै छिटुवा धान खेती गरेका हुन् । टीकापुर नगरपालिका–८ की भुन्टी साउँदको १ बिघा जमीनमा छिटुवा धान खेती गरिएको छ । भुन्टीको परिवारले गत वर्ष बाढीले बगाएकाले आफ्नो खेतको धान देख्न पनि पाएनन् । पाकेको सबै धान सबै बाढीले बगाएपछि भुन्टीको परिवारले यस वर्ष खेत रोप्ने आँटै गरेन । उनीहरुले भए खाउला नभए खेती गर्ने रकमले अन्न किनौँला भनेर छिटुवा धान खेती गरे । “धान खेतीमा गरिएको लगानी पोहोर बाढीमा मिसियो, मेहनत, लगानी सबै पानीमा बगेपछि यस वर्ष खेती गर्ने मन लागेन”, भुन्टी भन्नुहुन्छ, “खेती गर्न धेरै खर्च लाग्छ, पूरा परिवार खेतमै जोतिनुपर्छ । त्यसैले बीउमात्र भए पुग्ने भएकाले धान छरेका हौँ ।”

धान रोप्नुको सट्टा उनीहरुको उम्रिएको धान पानी नपाएर सुकेर बिग्रियो । लामो समयसम्म वर्षा नभएपछि उम्रेको धान सुक्यो । “असार महिनाभरि पानी परेन, धान सुकेपछि त्यसैमा मास खेती गरेकी छु”, भुन्टीले भन्नुभयो, “भए खाउला, नभए अब के गर्नु ? खेतीकै भरमा बाँचेका हामी अब यहाँबाट विस्थापित हुनुपर्ने अवस्था आउँदैछ ।” टीकापुर–८ कै मञ्जु साउँदको परिवारले पनि डेढ विघा जमीनमा धान छरेको छ । उनीहरुको समस्या पनि यस्तै हो । बाढीको त्रासले मञ्जुको परिवारले पनि खेती गर्ने हिम्मत गरेन । “डेढ बिघा खेतमा धान खेती गर्न लाखौँ खर्च हुन्छ, खर्च गरेर उत्पादन भित्र्याउने ग्यारेन्टी छैन”, मञ्जुले भन्नुभयो, “हामीमात्र होइन हाम्रा अन्य छिमेकीले पनि यस वर्ष खेती गरेनौँ ।”

बीउ राख्ने, खेत जोत्ने काम गर्नुभन्दा धान छर्नु उत्तम रहेको भन्दै किसानले यस वर्ष छिटुवा धान लगाएका स्थानीय श्यामलाल चौधरीले बताउनुभयो । “गत वर्ष सयौँ किसानको पाकेको धान बाढीले बगायो, यस वर्ष धान खेती गर्न लगानी नगर्ने सोच बनायौँ”, उहाँले भन्नुभयो, “मैले साढे चार बिघामा धान छरेको छु, भए हुन्छ नभए पनि कम लगानी खेर जान्छ । यस्तो महँगो बीउ, मल, जोताइमा के खर्च गर्नु ? बाढीको भर छैन ।” चौधरीले जस्तै अन्य किसानले समेत यस वर्ष लगानी खेर जाने डरले धान रोपाइँ गरेका छैनन् । स्थानीय शेरबहादुर साउद ८ नं वडामा करिब डेढ सय बिघा जमिनमा छिटुवा धान खेती गरिएको बताउनुहुन्छ ।

“नदी नियन्त्रणको काम भएको छैन, बढी वर्षा भएमा नदी बस्तीमा पस्छ, खेतीमात्र होइन मानिसकै बिचल्ली हुन्छ”, साउदले भन्नुभयो, “त्यसैले यहाँका अधिकांशले खेती गरेनन् । खेत भएर पनि यहाँका नागरिकलाई भोकमरीको समस्या हुने अवस्था आएको छ ।” टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बाढी, कटान र डुवानको समस्या विसं २०३५ देखिकै समस्या रहेको बताउनुहुन्छ । “बाढी र नदी कटानकै कारण साविक धनसिंहपुर गाविसको ९ नं वडा छैन, १ नं वडामा नदी बगिरहेको छ । जुन अहिलेको ८ नं वडामा पर्छ”, उहाँले भन्नुभयो, “नदी कैलालीतर्फ धार परिवर्तन गरेर बगिरहेकाले हामीले रोक्न सक्ने अवस्था छैन । गत वर्ष कात्तिकमा आएको बाढीले ९५ प्रतिशत किसानको धान खेती बग्यो ।”

उहाँले सङ्घर्ष समिति बनाएर नदी नियन्त्रणका लागि दबाब दिने काम गरिरहेको, स्थानीय सरकारले गर्न सक्ने अवस्था नभएको भए पनि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नियन्त्रणको काम गरिरहेको बताउनुभयो । “खेती लगाउने, बगेर जाने समस्याले किसान पीडामा रहेका, खेतीप्रति आकर्षित नभएको अवस्था छ । अहिले एक सातादेखि वर्षा भइरहेकाले छिटेको धान पनि डुबेको अवस्था छ”, उहाँले भन्नुभयो, “हामीले आवश्यक बीउ, मलजस्ता कार्यमा सघाउँदै आएका छौँ । प्रविधिका लागि सिँचाइ आयोजनाले सघाइरहेको छ ।”

 


Thali Mobile Pvt.Ltd.