बाढी, पहिरोले घर, पुल र खेत बगायो

बाढी, पहिरोले घर, पुल र खेत बगायो

गोरखा । वर्षासँगै आएको बाढी, पहिरोले घर, पुल र हजारौं रोपनी खेत बगाएको छ । बिहिबार रातीको वर्षासंगै चुतीखोलाको बाढीले क्षेती पुगाएको हो ।पालुङटार ६ कल्लेरीमा पहिरोले स्थानीय केशरबहादुर थापाको घर बगाएको छ। थापाको परिबार नजिकै त्रिपाल टाँगेर बसेका छन् ।

आठ घर पहिरोले क्षतिग्रस्त बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति राना लगायतको घरमा पहिरोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिरोले चारघर उच्च जोखिममा रहेको वडाअध्यक्ष चेतबहादुर गुरुङले बताए ।

जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको छ । त्यस्तै पालुङ्टार ९ जोगीबेशीको राममाया कुँबरको घर स्थानीय खहरेखोलाले क्षतिग्रस्त बनाएको छ । स्थानीय चुतीखोलाको बाढीले सेराबजार उच्च जोखिममा रहेको र बाढीले जोगीबेशीदेखि विर्दीसम्मको करिब पैँतीससय रोपनी खेत बगाएको वडाअध्यक्ष भेजराज पाण्डेले बताए ।

भित्र्याउने बेला भएको बर्खेधान र रोपाइँको तयारी भइरहेको फाँट बाढीले बगाएपछि किसान अहिले चिन्तित बनेका छन् । अँबुवा, बिर्दी, सेरा सडकमा रहेको बिर्दीपुल चुती खोलाको बाढीले बगाएको छ। ठाउँठाउँमा झरेको पहिरोले सो सडक अवरुद्ध भएको छ ।

त्यस्तै पहिरोले बारकिलो बारपाक सडक पनि अवरुद्ध भएको स्थानीयले बताए । सिरानचोक गाउँपालिका वडा नं. ७ र ८ स्थित बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अबरुद्ध भएको प्रहरी कार्यालयले जनाएको छ । कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.