काठमाडौं । नयाँ सरकार गठनबारे गठबन्धनका दलहरुबीच सहमति भइसकेको छैन । सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको छ ।
नेपाली काँग्रेसका नेता तथा प्रवक्ता डा.प्रकाशशरण महतले सत्ता गठबन्धनका दलहरुबीच सहमतिका लागि बैठक बस्न लागेको र बैठकमा गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुने जानकारी दिए ।
निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन मात्रै बाँकी रहेको छ । गठबन्धनका दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न नसकेको र गठबन्धनको ठूलो दल नेपाली काँग्रेसले नै नयाँ सरकारको नेतृत्व गर्नुपर्ने नेताहरुको अडान र महत्वपूूर्ण पदहरुमा अन्य दलका नेताहरुको चाहानाका कारणले अहिलेसम्म सहमति नभएको भित्री स्रोतले जनाएको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदहरुको गठबन्धनका दलहरूबीच भागवण्डा मिल्न नसक्दा यसअधिका बैठक विना निष्कर्ष टुङ्गिँदै आएका छन् ।
सहमतिका लागि प्रचण्ड र पौडेलको भेटवार्ता
गठबन्धनका दलहरुबीच सहमतिको प्रयास भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुले प्रधानमन्त्रीमा सहमत नगरे माओवादी एमालेसंग मिलेर सरकार गठन गर्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री पदबाट आफु पछि नहट्ने अडान राख्दै प्रचण्डले माओवादीकै कारण शेरबहादुर देउवा अहिले प्रधानमन्त्री बन्न पाएको र उनकै नेतृत्वमा निर्वाचन पनि सम्भव भएको बताउँदै अब माओवादीले पालो पाउनु पर्ने अडान राखे । त्यस्तै काँग्रेस वरिष्ठ नेता पौडेलले भेटवार्ता पछि नेताहरूलाई गरेको ब्रिफिङ अनुसार प्रधानमन्त्री नपाए माओवादी गठबन्धनबाट बाहिरिन सक्ने बताए ।
शान्ति प्रक्रियाको मर्म अनुसार प्रचण्ड प्रधानमन्त्री र रामचन्द्र पौडेल राष्ट्रपति बन्दा न्याय हुने प्रचण्डको भनाई रहेको जानकारी दिए । गठबन्धनको औचित्य अहिले नै नसकिएकाले माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच को प्रधानमन्त्री बन्ने भन्नेमा समझदारी हुनुपर्ने पौडेले बताए ।
यसैगरी वरिष्ठ नेता पौडेलले गठबन्धनको अर्को दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफू राष्ट्रपति बन्ने कुरामा दाहाल र नेपाल दुवैको सहमति आवश्यक रहेको बताए ।
सरकार बनाउन माओवादीबिनै बहुमत
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले प्रधानमन्त्री माओवादीले नपाए नेकपा एमालेसँग मिलेर सरकार बनाउँने संकेत गरेसंगै प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताहरुले माओवादी विनै सरकार गठन गर्ने शुत्र खोजिरहेका छन् ।
काँग्रेस स्रोतका अनुसार देउवानिकट कांग्रेसका प्रभावशाली नेताहरूदेखि प्रधानमन्त्रीका सल्लाहकारहरू समेत रास्वपा, राप्रपा, जसपा, जनमत लगायतका दलका शीर्ष नेताहरूसँग छलफलमा लागेका छन् ।
जसपालाई सरकारमा नलिन देउवामाथि दक्षिणी दबाब भए पनि केही सल्लाहकार जसपा नेताहरूसँग समेत छलफल गरिरहेका छन् । उनीहरूले राप्रपाका पनि विभिन्न नेताहरूसँग भेटघाट बढाएका छन् ।
काँग्रेसले माओवादीबाहेकका दलहरुसंग मिलेर सरकार बनाउन खोज्दा राष्ट्रपति र उपराष्ट्रपति चुनावमा जित्नुु पर्ने देखिन्छ । चुनावमा जादाँ जित्न नसकिने अवस्था आउँदा फेरी एमालेसँगै कम्प्रमाइज गर्नुपर्ने अवस्था आउने नेताहरुको भनाई छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रदेश सभा सदस्यहरूको मत आवश्यक पर्ने भएकाले राप्रपा, नेकपा एसलगायत साना दलको मात्र मतले ५८ हजारभन्दा बढी मतभारको आधा अर्थात् २९ हजार कटाउन निकै कठिन छ । रवि लामिछाने नेतृत्वको रास्वपाको प्रदेशमा मत छैन भने नेकपा एमाले र माओवादीमात्रैको मतभार २५ हजारभन्दा बढी छ ।
त्यस्तै जसपा, स्वतन्त्र, नेमकिपा लगायतका दलहरूको मत कांग्रेसतिर जाने सम्भावना नरहेको काँग्रेसका नेताहरुले बताइरहेका छन् भने सरकार बनाउनका लागि राप्रपा, रास्वपा, नेकपा एसलगायतका साना दलको मात्र समर्थन लिए पनि पग्ने बताइरहेका छन् । यसरी साना दलहरुसंग मिलेर सरकार बनाउँदा राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश सरकारहरू गुमाउनुपर्ने जोखिम रहेको काँग्रेस नेताहरुको भनाई छ ।
कांग्रेस, माओवादी र नेकपा एसका अध्यक्षहरू सत्ता गठबन्धन जोगाउँन गम्भीर हुनुपर्ने काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
माओवादी बेगर सरकार बनाउँन जोखिमपूर्ण हुने अवस्थामा प्रचण्डलाई गलाउन नसकिए पहिलो चरणको प्रधानमन्त्री दिएर भने पनि राष्ट्रपति, सभामुख र कम्तीमा ३ देखि ४ प्रदेश सरकारको नेतृत्व लिएर जानुपर्ने दबाब देउवामाथि कांग्रेसबाटै बढेको छ ।

