काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले घर गोठ, बोटबिरुवालगायतको मुआब्जा पाउँने भएका छन् ।
धादिङ र गोरखाका जिल्ला प्रशासन कार्यालयले नियमितरुपमा मुआब्जा वितरणको काम अगाडि बढाइरहेको छ । सरकारले आयोजनाका सम्बन्धमा आवश्यक थप निर्णय गर्ने तयारी गरिरहेको छ ।
चिनियाँ कम्पनी गेजुवा र स्वदेशी लगानीमा निर्माण गर्ने गरी आवश्यक तयारी भइहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ भने सरकारले हालसम्म वितरण गरेको मुआब्जालाई ‘भायबिलीटी ग्याप फण्ड’ मा रुपान्तरण गरेर आयोजनालाई लगानीयोग्य बनाउने तयारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले साल, बर्रो, चाप, करम, खयर, मसलालगायत २२ वटा रुख बिरुवाको मुआब्जा निर्धारण गरेको छ । न्यूनतम रु ७५ देखि अधिकतम एक हजार प्रति क्युबिक फिट बराबर मुआब्जा पाउने गरी निर्धारण भएको छ ।
यस्तै, आँपको प्रतिवर्ष प्रतिबोटबाट लिन सकिने आम्दानीका आधारमा रु चार हजार ६००, केराको रु एक हजार २३७, अम्बाको रु एक हजार ६०, रुख कटहरको रु ११ हजार ७०० बराबरको मुआब्जा निर्धारण भएको छ ।
फलफूलतर्फ विभिन्न ३० वटा प्रजातिको मुआब्जा धिर्नारण गरिएको छ । आयोजनाको ढाँचा निर्धारण गरेर तत्काल निर्माण प्रक्रियामा लैजान स्थानीयवासीले राख्दै आएको मागसमेत अब छिट्टै सम्बोधन हुने भएको छ ।
