मोरङ । पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट गलहत्याएका छन् । वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे ४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर गलहत्याएका हुन् ।
गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरेका थिए ।
हिसाव नदेखाएपछि बैठकअघि बढ्न नदिने भनेपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए । निर्देशनपछि दुईजना नगरप्रहरीले उनलाई निकालेर छलफल सुरु गरेका थिए ।
भण्डारीले भने, पालिका भित्र भएको अनियमितताको हिसाब देखाउनु को सट्टा नगरप्रहरी लगाएर मलाई बाहिर निकाले । हातपात पनि गरे ।’ मेयर र नगरप्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै भण्डारीले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका छन् ।
अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एक जना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेको अध्यक्षको भनाइ छ । पालिकामा अझै अनियमितता भइरहेको उनको दावी छ ।
गोष्ठीमा वडा अध्यक्षले बैठक चल्न नदिएपछि मेयरले वडा अध्यक्षलाई बाहिर पठाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए ।
