भक्तपुर । भक्तपुरका सांस्कृतिक सम्पदा संरक्षण गर्न सांस्कृतिक सम्पदा पदयात्रा सुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा सुरु भएको हो ।
ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउँनुहुने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउँने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले रहेको भक्तपुर नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन । नगर प्रमुख प्रजापति र उपप्रमुख जोशीको नेतृत्वमा भनपा वडा नं. ९ को लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा,ग्वंग पुखु, क्वाठडौँ पुखु,तिनाछें,सलां गणेश पुखु, बसिकुलां नाग पुखु,दुगुमला, भोलाछें पुखु,अंचा पुखु, ब्यासी पुखु, ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु,नः पुखु, तः पुखु ( सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा समापन भएको थियो ।
सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको छ । ¥यालीमा हजारौंको संख्यामा नगरबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

