१८ साउन भक्तपुर । लकडाउनमा शिक्षक हाजिरी, शिक्षण सिकाइ, शिक्षकहरूको तालिम विवरणलगायत विषय समाविष्ट प्रगति प्रतिवेदन भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको छ ।
नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिले भक्तपुर नगरपालिकाभित्रका आधारभूत विद्यालय अवलोकनका क्रममा समष्टिगत रुपमा प्राप्त विद्यालय र शिक्षकहरूको विवरण, भौतिक अवस्थाबारेको प्रतिवेदन हस्तान्त्रण गरेको हो ।
आइतवार संघका भक्तपुर नगर अध्यक्ष गणेशराम थुसाले हस्तान्तरण गरेको प्रतिवेदनमा भक्तपुर जिल्लाभित्रका आधारभूत विद्यालयहरूमा विद्यार्थी संख्यामा कमी आएको, भक्तपुर नपाभित्र ५५ दरबन्दी बढी भनी रिक्त दरबन्दीमा नियुक्ति गर्न नदिइएको, शिक्षक नपुग भएका कारण कक्षा सञ्चालन गर्न अप्ठेरो स्थिति सिर्जना भएको विषय उल्लेख छ ।
प्रतिवेदनमा विद्यालयको शैक्षिक सुधार गर्न शिक्षकहरूलाई तालिम दिनुपर्ने, शिक्षक दरबन्दी पर्याप्त हुनुपर्ने, विद्यालयहरूमा लेखा सहायकको व्यवस्था हुनुपर्ने, आवश्यकता हेरी विद्यालयहरूको स्थानान्तरण गर्नुपर्ने लगायतका सुझाव समेटिएको छ । प्रतिनिधिमण्डलमा नेक्राशिसंघका ज्ञानसागर प्रजापति, अम्बिका न्याइच्याइँ, शिवराम बोहजु, दिपक माक, विष्णुप्रसाद दुमरुलगायतको उपस्थिति रहेको थियो ।
