भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

महामारीको बेला नेपाली श्रमिकलाई कतारले गैरकानुनी ढङ्गमा निष्कासन गर्‍याे : एम्नेस्टी

महामारीको बेला नेपाली श्रमिकलाई कतारले गैरकानुनी ढङ्गमा निष्कासन गर्‍याे : एम्नेस्टी

काठमाण्डाै । कतारले कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्न लागिएको भन्दै सयौं आप्रवासी श्रमिकलाई नियन्त्रणमा लिएर स्वेच्छाचारी ढङ्गमा निष्कासन गरेको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । फागुन २९ र ३० गते कतार प्रहरीले पक्राउ गरेका २० जना नेपाली श्रमिकहरूसँगको कुराकानीपछि यस्तो थाहा भएको एम्नेस्टीले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

कोभिड–१९ को परीक्षण सकिएपछि सबैलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको भए पनि धेरै दिनसम्म हिरासतमा राखेर पछि नेपाल पठाइएको एम्नेस्टीको भनाई छ । ‘हामीले कुराकानी गरेका कसैले पनि आफूहरुलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण पाएका छैनन्, न त उनीहरूले आफ्नो हिरासत र निष्कासनका विरुद्ध कुनै उजुरी नै गर्न सकेका थिए’, एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युज्का निर्देशक स्टिभ कबर्नले भन्नुभएको छ, ‘अमानवीय हिरासतको अवस्थामा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नुअघि आफ्ना सरसामान ल्याउने समेत अवसर दिइएको थिएन ।’

यो महामारीलाई आप्रवासी श्रमिकविरुद्ध थप दुव्र्यवहार गर्ने अवसरको रूपमा दुरुपयोग गरिनु एकदमै दुःखद भएको कबर्नको भनाइ छ । यसरी दुर्व्यवहार गरेर स्वदेश फर्काइएका श्रमिकहरुलाई उनीहरूले चाहेको खण्डमा कतार फर्कन दिनुपर्ने र उनीहरू कार्यररत रहेका रोजगारदाता कम्पनीहरूले पारिश्रमिक लगायतका अन्य सेवा सुविधाहरू यथाशीघ्र भुक्तानी गर्नुपर्ने कबर्नले बताउनुभएको छ ।

गिरफ्तारी र हिरासत

फागुनु २९ र ३० गते सयौँ आप्रवासी श्रमिकहरूलाई कतार प्रहरीले घेरा हालेर नियन्त्रणमा लियो र दोहाको औद्योगिक क्षेत्र, बारवा शहर  र लेबर शहरसमेत विभिन्न ठाउँको  हिरासतमा राख्यो । आफ्नो आवासबाट बाहिर खाद्यान्न लगायतका सरसामान किनमेल गर्न गएको बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो ।

पक्राउ गर्ने बेला प्रहरीले कोभिड–१९ परीक्षणको लागि लैजान लागेको र पछि आवासमै फर्काइदिने भनेका थिए । त्यसपछि ती श्रमिकहरूलाई बसमा राखियो र औद्योगिक क्षेत्रको हिरासतस्थलमा लगियो, जहाँ उनीहरूको कागजात र मोबाइल फोन जफत गरियो र उनीहरूको फोटो खिच्नुका साथै औँठाको छाप पनि लिइयो ।

श्रमिकहरूलाई विभिन्न देशका सयौँ अन्य मानिसहरूसँगै अमानवीय अवस्थामा हिरासतमा राखिएको थियो । उनीहरूलाई खाट र ओढ्ने ओछ्याउने नभएको एकदमै भिडभाडयुक्त कोठाहरूमा पर्याप्त पानी र खाना समेत नदिएर राखिएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

त्यहाँ लगेर स्वास्थ्य परीक्षण गर्नुको साटो एउटै कोठामा सयौंलाई ठेलमठेल गरेर राखेको र खाना पनि फोहोर फाल्ने प्लास्टिकमा दिएको जेल परेका धेरै नेपालीले गुनासो गरेका छन् । अन्तर्वार्ता लिइएका २० जनामा तीन जनाले मात्रै हिरासतमा रहेको बेला आफूहरुको शरीरको तापक्रम मापन गरिएको बताएका छन् ।

निष्कासन

हिरासतमा रहेका धेरै श्रमिकलाई एयरपोर्ट पुग्दासम्म पनि देश निकाला गरिरहेको थाहा नभएको एम्नेस्टीको अध्ययनले देखाएको छ । कतिलाई हिरासतबाट सिधै एयरपोर्ट पुर्याएको र कतिपयलाई कोठामा लगेर सामान प्याकिङ गर्न दिइएको थियो । दुइटै हात हतकडीमा बाँधिएकोले राम्रोसँग सामान पनि प्याक गर्न नपाएको धेरै श्रमिकले बताएका छन् ।

कतिलाई चैत २ मा निष्कासन गरिएको थियो भने अरुलाई चैत ६ मा पठाइएको थियो । कसैले पनि आफूलाई किन हिरासतमा राखिएको वा किन निष्कासन गरेको भनेर कुनै उजुरीसम्म गर्न नपाएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । यो विषयमा कसैलाई भने मा फौजदारी अभियोग लगाइदिने तथा लामो समयसम्म हिरासतमा राख्ने धम्की दिएको पनि धेरैले बताएका छन् ।

पारिश्रमिक भुक्तानी लिन बाँकी

अन्तर्वार्ता लिइएका २० जनामध्ये दुई जनालाई मात्र कम्पनीले सम्पर्क गरी बाँकी रहेको पारिश्रमिक चुक्ता गर्ने भनेको छ । एकजना श्रमिकले भने आफूलाई कम्पनीले पैसा दिएको तर हिरासतमा रहेको बेला प्रहरीले ‘सुरक्षाका लागि’ भन्दै लगेको र पछि फिर्ता नगरेको बताएका छन् ।

अर्का श्रमिकले भने आफूले काम गरेको कम्पनीले पैसा पठाउनका लागि बैँक खाता आवश्यक पर्ने भन्दै उनलाई एउटा बैंकमा खाता खोल्नु भनी भनेको बताएका छन् । सबै श्रमिकहरूले आफूले पाउने पारिश्रमिक र काम छाड्दा पाउने अन्य सुबिधाहरू नलिइकन कतार छाडेका थिए ।

कतार सरकारको प्रतिक्रिया

कतार सरकारले त्यसरी श्रमिकलाई देश निकाला गर्नुको कारण उनीहरु औद्योगिक क्षेत्रमा गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न रहेको जनाएको छ । यस्ता गतिविधिहरूमा मानव स्वास्थ्यलाई गम्भीर रूपमा खतरामा पार्न सक्ने खतरनाक खाद्य वस्तु लगायतका निषेधित र प्रतिबन्धित वस्तुहरूको उत्पादन र बेचबिखन आदि रहेकाले आफूहरुले उनीहरुलाई कारबाही गर्नुपरेको कतार सरकारको भनाइ छ ।

तर एम्नेस्टी इन्टरनेसनलले कुराकानी गरेकामध्ये १८ जनाले यी आरोप वा अभियोगका बारेमा आफूहरुलाई जानकार नभएको बताएका छन् । दुई जनाले भने अरेबिक भाषा बोल्ने उनीहरूसँगै हिरासतमा रहेका अन्य श्रमिकहरूले उनीहरूलाई रक्सी आपूर्ति गरेको आरोप लगाएको भनी भनेको एम्नेस्टीले जनाएको छ ।

यसरी हिरासतमा लिइएको र निष्कासन गर्ने धम्की दिइएको कुनै पनि आप्रवासी श्रमिकलाई यसो गर्नुको कारण खुलाउन र उनीहरूलाई त्यसको प्रतिवाद गर्ने अवसर दिन एम्नेस्टी इन्टरनेसनलले कतारलाई आह्वान गरेको छ । यस्तै यस्ता श्रमिकहरूको प्रभावकारी उपचार र क्षतिपूर्तिको दिनुपर्ने पनि एम्नेस्टीको जोड छ । ujyaalo

 


Thali Mobile Pvt.Ltd.