मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न पर्व गठांमुग

मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न पर्व गठांमुग

काठमाण्डौ । काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले मंगलबार घण्टाकर्ण पर्व मनाउँदैछन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । नेपाल सम्वतको तिथि अनुसार दिल्लागा चतुर्दशीको दिनलाई गथांमुगः चःह्रे भन्ने गरिन्छ । कानमा घण्टा झुन्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो ।

घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । यस पर्वअन्तर्गत नगरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो र दोबाटोमा छ्वाली र पराल तथा नर्कटले बनाइएका आकृतिलाई जलाइन्छ त कतै खोलामा सेलाइन्छ । नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेकाले यो पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने,व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको जनाइएको छ ।

नेपालभाषी समुदायमा बढी महत्त्वको यो पर्वलाई ठाउँअनुसार फरक फरक नाम दिइएको छ । बिहानै चोकचोकमा प्रतिकात्मक भूतका रुपमा बेतबाँसका गथांमुगः बनाएर राखिएका छन् । ती गथांमुगःहरुलाई बेलुका घरघरबाट विशेष तान्त्रिक विधिबाट पूजापछि घिसार्दै नजिकका खोला र नदीहरुका बगाइदिने गरिन्छ । भक्तपुरमा मनाइने चःह्रेको छुट्टै आकर्षण छ । त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरुपी तीनखुट्टे, गठांमुगः को पुत्ला बनाइन्छ । टोलटोलमा अघिल्लो दिन साँझ नै नर्कटमा छ्वाली बेरेको मानवरुपी गठांमुगःको पुत्ला बनाइ हाँडीमा नाक, मुख र कान बनाइन्छ ।

टोलटोलमा बनाइएको गठांमुगःलाई टोलबासी मिलेर नजिकको दोबाटोमा लगेर जलाइन्छ । चोक दोबाटोमा बसेर बालबालिका चोर्ने र मारेर खाने घण्टाकर्णलाई टोलबासी मिलेर मारी दाहसंस्कार गरेको पर्वका रुपमा गठांमुगः चःह्रे मनाइँदै आएको छ । यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् । विशेषगरी किसानले वैशाख मीहनामा पर्ने अक्षय तृतीयाका दिन रोपाइँलगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूतप्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वको रूपमा समेत लिइन्छ ।

आजकै दिन आफ्ना घरमा भूतप्रेतहरुले प्रवेश नगरोस् भनी फलामका किला काँटा लगायत प्याकिङ्ग भनिने विशेष प्रकारको काँटी टाँग्ने गरिन्छ । वर्षायामको खेतीपातीपछि आजकै दिनबाट केही समय फुर्सद निकालेर नेवाः समुदायमा सांस्कृतिक गतिविधि सुरु गरिन्छ । यो पर्वलाई किसानको रोपाइँ कार्य सम्पन्न भएको र वर्ष दिनको चाडपर्वको सुरुआत भएको सङ्केत पर्वको रुपमा लिने गरिएको छ । नेवार समुदायमा घण्टाकर्ण चतुर्दशीको अवसरमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा यसलाई लिने गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.