तनहुँ । मालपोत कार्यालयका गतिविधिलाई सिसी क्यामेराले निगरानी गरिराखेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागको सहयोगमा साउण्ड रेर्कडसहितको सिसी क्यामेरा जडान गरिएपछि सो कार्यालयको गतिविधिको निगरानी भइरहेको हो ।
मन्त्रालय र विभागले सबै मालपोत कार्यालयमा सिसी क्यामेरा जडान गर्ने अभियान थालेको छ । सिसी क्यामेरामा रेर्कड भएका कुरा छ महिनासम्म सुरक्षित रहने मालपोत कार्यालय तनहुँले जनाएको छ । सिसी क्यामेरा जडानले लेखापढी कानून व्यवसायी र कर्मचारीबीच हुने भनिएको आर्थिक चलखेल र अनियमितता पूर्णरुपमा अन्त्य हुने विश्वास गरिएको मालपोत कार्यालय तनहुँका प्रमुख शेरबहादुर भण्डारीले बताए ।
