यसपालीको जनगणनामा नेपालमा थपिए दुई जाति

यसपालीको जनगणनामा नेपालमा थपिए दुई जाति

गोरखा । गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले यसपालीको १२ औं राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन् । चुम र नुब्री उपत्यकाका भोटे लामा समुदायले छुट्टै जातिका रूपमा पहिचान समेटेका हुन्।

गणकसँग चुमवासीले जात र भाषा चुम्बा अनि नुब्रीवासीले नुब्री नै लेखाएका हुन् । लामा थर लेख्ने उनीहरूलाई २०६८ सालको जनगणनामा तामाङअन्तर्गत सूचीकृत गरिएको थियो। युवाहरूको सामूहिक पहलमा जनगणनामै वास्तविक जात र भाषा लेखाउने अभियान सञ्चालन गरिएको किमोलुङ फाउन्डेसनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए।

आफ्नो पहिचान कायम गराउन स्थानीय युवाहरु नै गणकमा खटिएको नुब्री क्षेत्रका पेमा ग्याल्बो लामाले बताए। चुमनुब्री गाउँपालिकाका बासिन्दाको जनगणना गर्दा कोड नम्बर उल्लेख नगरी पठाउन निर्देशन दिइएको जिल्ला जनगणना कार्यालय गोरखाका प्रमुख महेन्द्रप्रसाद ढुंगानाले बताए। ढुंगानाले भने, ‘उहाँहरू छुट्टै खालको लामा हो ।

तर, २०६८ सालको जनगणनामा भूलबश तामाङमा सूचीकृत भएको रहेछ, यसपटक चुम्बा र नुब्री जातिलाई कोड नम्बर दिन नसके पनि जनगणनाको कोडिङ, डिकोडिङ गरी नतिजा दिने बेला विभागले नै थपिदिने व्यवस्था भएको छ।’ गोरखामा जनगणनाका लागि ४ सय ४ जना गणक खटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.