काठमाडौं । रुसी युद्ध लडिरहेको युक्रेनी महिला आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै नेपालका हिमाल चढ्न आएकी छिन् । सगरमाथा चढ्न ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
जसमध्ये युक्रेनबाट एक आरोही (महिला)को मात्र अनुमति जारी भएको छ । यो सिजन रुस युक्रेन युद्धका कारण कम मात्र यूरोपेली पर्वतारोही आरोहणमा आउने अनुमान गरिएको थियो ।
तर, यस पटक पनि अमेरिका र यूरोपबाट नै बढी आरोही नेपाल आएको विभागले जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट ५ महिलासहित १७ जना आरोही सगरमाथा चढ्ने उद्देश्यले नेपाल आएका छन् ।
सबैभन्दा धेरै अमेरिकाबाट आएका छन् । यो सिजन शुक्रबारसम्म १३ महिला र ५१ पुरुष गरी अमेरिकाबाट ६४ जना आरोहीले सगरमाथा चढ्न अनुमति लिएको तथ्यांक छ । दोस्रो नम्बरमा बेलायती नागरिक छन् ।
४ महिला ३० पुरुष गरि बेलायतबाट ३४ जना आरोहीले अनुमति लिएका छन् । यो सिजन २१ जना नेपाली आरोही सगरमाथा जाँदैछन्, जसमध्ये ६ जना महिला छन् ।
