काठमाडौं । चिनियाँ भन्सार यार्डका श्रमिकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल–चीनबीचको दुईवटा व्यापारिक नाका बन्द भएको छ ।
कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भइरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए ।
चिनियाँ कामदार ल्होसार छुट्टीमा गएपछि आयात पनि अहिले ठप्प भएको छ । झण्डै १० दिन आयात प्रभावित हुने रेग्मीले बताए ।
श्रमिक बिदामा जाँदा शुक्रबारदेखि आयात ठप्प भएको तातोपानी भन्सार कार्यालय चिनियाँहरु बिदाबाट फर्कीएपछि सम्भवत मंगलबारबाट नाका सञ्चालनमा आउने उनको भनाई छ । नाका खुलेपछि दैनिक २५ कन्टेनर सामान नेपाल आउने उनले जानकारी दिए ।
