काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुने भएकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भण्डारीले वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएको प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।
विश्वविद्यालयले आयोजना गरेको प्रथम त्रियान प्रज्ञा सम्मेलन तथा पुस्तकालय भवन उद्घाटनमा सहभागि हुने विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले बताए । तीन तले पुस्तकालय भवनमा बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् ।
नौ करोड २० लाखको लागतमा विश्वविद्यालयले निर्माण गरेको जनाएको छ । स्थापना दिवसको मूल समारोहमा राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका छवटा पुस्तक अशोक वदान, इतिवुत्तक, बुद्धवंश, बुद्ध र ब्रह्म, सिद्धार्थ चरित्रम् पुस्तकको लोकार्पण गर्ने रजिष्ट्रार आचार्यले बताए ।
यसैगरी राष्ट्रपति भण्डारीले आजै कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा दुई वटा प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञमा सरिक हुने र संक्षिप्त मन्तव्य राख्यने कार्यक्रमसमेत रहेको वडा ध्यक्ष विष्णुप्रसाद पौडेलले बताए ।
