लाप्चाबाट डेढ हजारले गरे कैलाश दर्शन, आर्थिक गतिविधि बढेपछि स्थानीय खुसी

लाप्चाबाट डेढ हजारले गरे कैलाश दर्शन, आर्थिक गतिविधि बढेपछि स्थानीय खुसी

लाप्चा । मानसरोवर कैलाशको दर्शन गर्न आएका विदेशी पर्यटक हुम्लाबाट फर्केका छन् । यो आर्थिक वर्षमा एक हजारबढी विदेशी पर्यटकले लाप्चाबाट मानसरोवर कैलाश दर्शन गरेर फर्किएका हुन । विदेशीसंगै तीन सय आन्तरिक पर्यटकले पनि लाप्चाबाट कैलाश दर्शन गरेको पर्यटन व्यवसायीले बताएका छन् ।

चीनको तिब्बती क्षेत्रमा अवस्थित मानसरोवर कैलाश धर्मावलम्बीहरुको पवित्र स्थल हो । कैलाश पर्वत पुग्न कठिन भएकाले हुम्लाको लाप्चाबाट दर्शन गर्ने पर्यटकको सङ्ख्या अत्याधिक बढेको उनीहरुको भनाइ छ ।

यस वर्ष लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको सङ्ख्या एक हजार १७५ जना पुगेको होटल व्यवसायी विजय लामाले बताए । मौसम राम्रो भएका कारण एक-दुई समूहबाहेक अन्य सबै पर्यटक कैलाश दर्शन गर्न सफल भएको र सबैले लाप्चाबाट दर्शन गरेर फिर्ता भएको तथ्याङ्क उनीहरुसंग छ ।

लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेमा भारतीय नागरिक धेरै छन् । बेल्जियम, अमेरिका, जर्मनलगायत १९ देशका नागरिकले यसपटक बढी चाँसो दिएर लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गरेका छन् । तर, लाप्चा पुगेर दर्शन गर्ने क्रम भने आन्तरिक पर्यटकको अझै चलिरहेको छ ।

आन्तरिक पर्यटकले लाप्चाबाट दर्शन गरेको नाम्खा गाउँपालिका–६, लिमीका वडाअध्यक्ष पाल्जोर तामाङले बताए । यस पटक धार्मिक पर्यटकको ठूलो समूहले दर्शन गर्ने काम सकिएपछि व्यवस्थापनमा खटिएका पर्यटन व्यवसायी फर्किएका छन् ।

ताक्चीमा पर्यटकको व्यवस्थापनका लागि खटिएका पर्यटन व्यवसायी सदरमुकाम सिमकोट फर्किएको बताए । लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकका लागि सुरुमा सिमकोट, लेकधिङ्गा र ताक्चीमा बासको व्यवस्था गरिएको भए पनि लेधधिङ्गामा व्यवस्थापन गर्न कठिन भएपछि सिमकोटस्थित रानीवनमा व्यवस्था गरिएको थियो ।

कैलाशको दर्शन गर्न आउने पर्यटकका कारण आर्थिक गतिविधि बढेको यस क्षेत्रका स्थानीयले बताएका छन् । किसान, सवारीसञ्चालक र होटल व्यवसायी प्रत्यक्ष लाभान्वित भएको उनीहरुको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.