दशैं तिहार लक्षित दुई सय बस थप्दै व्यवसायी

दशैं तिहार लक्षित दुई सय बस थप्दै व्यवसायी

काठमाडौं । व्यवसायीले दसैँका लागि दुई सय नयाँ बस थप्ने भएका छन् । दसैँमा थप्न लागिएका एसी सुविधासहितका डिलक्स बस लामो दूरीमा सञ्चालन हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । थपिन लागेका नयाँ बस काठमाडौं हुँदै लामो दूरीमा गुड्ने भएका छन् ।

ती बस पूर्व–पश्चिम सडकखण्डमा सञ्चालन गरिने छन् । केही बस पोखरा र विराटनगर रुटमा गुड्नेछन् । नयाँ दुई सय लक्जरी बसले सहज हुने व्यवसायीको विश्वास छ । हरेक वर्ष दसैँका वेला यात्रुले सिट नपाएर कोचाकोच यात्रा गर्नुपर्ने बाध्यता रहेको र यसपाली यस्तो अवस्था नआउँने बताइएको छ ।

साना–ठूला गरी देशभर यात्रुवाहक सवारीसाधनको संख्या साढे तीन लाख रहेको यातायात व्यवस्था विभागले जनाएको छ । यसमध्ये मिनीबस र ठूला बसको संख्या झन्डै एक लाख २० हजार रहेको छ । एसी सुविधा भएका डिलक्स बसको संख्या दश हजारबढी छ ।

दसैँको वेला दैनिक सात हजार लामो दूरीका बस गुड्छन् । रुट फ्री हुने भएकाले एउटै गाडी पटक–पटक ओहोरदोहोर गर्ने गर्छ । अस्तव्यस्त सडकमा नयाँ गाडी चलाउँदा बिग्रन सक्ने व्यवसायीलाई चिन्ता भएपछि सडक मर्मत गर्नेबारे व्यवसायीसँग छलफल गर्ने भएको छ ।

दसैँ नजिकिएसँगै घर जाने यात्रुको चाप सडकमा अत्यधिक देखिन थालेको छ । घटस्थापनादेखि उपत्यका छाड्नेको भिडभाड सुरु हुन्छ । अझ फूलपातीदेखि दैनिक दुई लाख यात्रुले उपत्यका छाड्छन् । त्यस्तै, मध्यम दूरीका लागि यात्रा गर्ने यात्रुको चाप पनि बढी हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.