२१ साउन २०७७ लुम्बिनी । बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएसँगै लुम्बिनीमा भिक्षुहरु वर्षावासमा बसेका छन् । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा भए पनि यो वर्ष भने मलमासका कारण वर्षावास एक महिनापछि सरेको हो ।
थाइल्याण्डका केही भिक्षुहरु भने असार पूर्णिमादेखि नै वर्षावासमा बस्नुभएको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले जानकारी दिए । “असोजमा परेको मलमासका कारण यस पटकको वर्षावास एक महिनापछि सरेको हो”, भिक्षु मैत्रीले भने, “वर्षावास हिजो मङ्गलबारदेखि शुरु भई कात्तिकको कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।”
सोमबार साँझ लुम्बिनीमा विशेष धार्मिक कार्यक्रम गरेर भिक्षुहरु वर्षवासमा बसेका हुन ।
वर्षावास भनेको भिक्षुहरु तीन महिना एकै विहारमा बसेर अध्ययन एवं चिन्तनमनन गर्नु हो । वर्षाको समयमा मानिस खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरु यताउता आवतजावत गर्न गाह्रो हुने भएकाले भगवान् बुद्धले वर्षावासको व्यवस्था गर्नुभएको भिक्षुहरुको भनाइ छ ।
