काठमाडौँ । जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेसंगै कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षाले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएपछि साइरन बजाइएको हो । विभिन्न प्रदेशका ४१ जिल्लाका नदी तथा खोला एवं तटीय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ ।
बिहीबारसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन महाशाखाले सूचना जारी गरेको छ ।
नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । बारा, पर्सा, रौतहट, काठमाडौँ, रसुवा, सिन्धुपाल्चोक, चितवन, नुवाकोट, मकवापुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपरासी, पाल्पा, कपिलवस्तु, सुर्खेत, सल्यान, दार्चुला, अछामसहितका विभिन्न ४१ जिल्लामा बाढी पहिरोको खतरा रहेको महाशखाले जनाएको छ ।

