काठमाडौं । किसानले मल नपाएर चिन्तित भएको बेला भारत भ्रमण गरेर प्रधानमन्त्री लम्पसार परेको विरोधमा नेपाल मजदुर किसान पार्टीले सडकमा विरोध गरेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई देशद्रोह काम गरेको सरकारले अझ नेपाली भूमी नै फिर्ता गराउनको साटो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मोदीसामु लम्पसार परेर निर्वस्त्र भएको आरोप लगाउँदै राजधानी काठमाडौँमा विरोध जुलुस र सभा सम्पन्न गरेको छ ।
विरोध सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले संसदमा, अरु नेता तथा प्रदेस साँसदले सडकमा विरोध सभाको नेतृत्व गरेका छन् । नेपाली काङ्ग्रेसको समर्थन प्राप्त पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनताको समस्या समाधान गर्न नसकेको दावी गरेका छन् ।
मनसुन सुरू हुँदा पनि रासायनिक मलको अभाव भई किसानहरूले धान खेतीको लागि मल नपाएको तर प्रधानमन्त्री र मन्त्रीहरू सत्ता भागबन्डामा लागेर भारतसामु ज्यूहजुरी गर्दै देशद्रोही काम गरेको आरोप लगाएका छन् । कर्णाली जलाशयसहितको जलविद्युत् परियोजना भारतीय एकाधिकार पुँजीलाई दिने निर्णय गर्ने प्रम प्रचण्ड भारतीय दलाल भएको उनीहरुको ठहर छ ।
नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति रामचन्द्र पौडेले प्रमाणिकरण गरेको नागरिकता विधेयक खारेज गर्नसमेत माग गरेका छन् । राजधानीमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता सुनिल प्रजापतिले देशलाई भन्दापनि प्रधानमन्त्री प्रचण्डलाई खुसी पार्नेकाम भएको बताए । नेपालको भविष्य सिक्कीम बन्दै गएको बताए ।
संविधानको उलंघन गरेर राष्ट्रघाति काम गरेको ठोकुवा गरे । भारतले जे चाहेको छ त्यही गर्ने प्रधानमन्त्रीले देश र जनताको हितमा काम नगर्ने भएकाले जनताले सडकमै आएर विरोध गर्नु पर्ने बताए । फिजी र सिक्कीम बनाउने दाउमा रहेका प्रचण्डले सारा सहयोग भारतबाट लिएको र त्यसको सावा व्याज तिर्न लागेको आरोप लगाए ।
त्यस्तै वानेश्वरस्थित संघीय संसद भवन अगाडिको विरोध सभामा बोल्दै प्रदेश साँसद सुरेन्द्रराज गोसाईले संसदीय परम्पराविपरीत ल्याइएको नागरिकता विधेयक तत्काल खारेज गर्नु पर्ने बताए । युवा, विद्यार्थी, किसान, मजदुरहरुको सहभागितामा भएको विरोध जुलुसमा नेपालको भूमी लुम्बिनी र कपिलवस्तु गाभेर तयार गरेको भारतको नक्साको विरोध र भत्सर्ना गरेका छन् ।
