वीरगञ्ज, । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम गर्दै आएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक सचेतना अभियानअन्तर्गत कार्यालयसहित त्यस मातहातका कार्यालयले विभिन्न कार्य गर्दै आएको छ ।
प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत सन्तुलालप्रसाद जैसवालले चालू आर्थिक वर्ष २०७८–७९ को पुस महिना मसान्तसम्ममा यस कार्यालयबाट मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने १९३ चालकलाई कारवाही गरिएको बताए । यसैगरी चालू आव २०७८–७९ को साउनदेखि मङ्सिर मसान्तसम्म क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने १०९ सवारी साधनका चालकलाई कारवाही गरिएको छ । कारवाही गर्दा रु १६ लाख राजस्व सङ्कलन भएको छ ।
यस्तै चालू आवको मङ्सिर मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार ७८३ सवारी साधनका चालकलाई कारवाही गरी कूल रु कूल नौ करोड ७७ लाख राजस्व सङ्कलन गरिएको छ । कार्यालयका अनुसार २०७८ सालको पुस मसान्तसम्ममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १९३ चालकलाई कारवाही गरिएको छ । यस कार्यालय मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, बारा र रौतहटमा विभिन्न पदमा कार्यरत ११६ ट्राफिक प्रहरीलाई प्रशिक्षणसमेत दिइएको छ ।
