शासक दलहरुले जनविरोधी कार्य गरे : अध्यक्ष जिजुक्छे

शासक दलहरुले जनविरोधी कार्य गरे : अध्यक्ष जिजुक्छे

भक्तपुर । नेपाल मजदु किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शासक दलहरुले एमसीसी सम्झौता नेपालको संसदबाट जनताको विरोधका बीच अनुमोदन गरी विदेशी दलाल सावित भएको बताएका छन् । मंगलबार भक्तपुर नगरपालिकाले जीर्णोद्धार गरेको भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित न्हू पुखू (रानीपोखरी)को उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले उक्त कुरा बताएका हुन् ।

भक्तपुर नपाबाट प्रकाशित रानी पोखरी जीर्णोद्धार २०७८ पुस्तक विमोचन गर्दै अध्यक्ष बिजुक्छेँले नेपाल उत्तर र दक्षिणको संगमस्थल भएको बताए । हाम्रा घरहरु त्था मन्दिरहरुको शैली उत्तरतिरको र मन्दिर भित्र रहेका सबै कुराहरु दक्षिणतिरको भएको स्पष्ट पार्दै भक्तपुर नगरपालिकाको अग्रसरतामा भइरहेको इतिहास जोगाउने अभियान प्रशंसनीय भएको उल्लेख गरे ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका अग्रज तथा जनप्रतिनिधिहरुले २०१९ सालदेखि नै सम्पदा संरक्षण र विकास निर्माणको काम उपभोक्ता समिति र जनताको सहभागितामा सम्पन्न गर्दै आएको नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले बताए । भक्तपुर नगरपालिकाले न्हु पुखूको आफ्नै स्रोत र साधनबाट जीर्णोद्धार गरी देशकै लागि उदाहरणीय र उल्लेखनीय काम गरेको तर्क उनले गरे ।

भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा गरिरहेको अगुवाइमा भक्तपुरबासी जनताको सहयोगको इतिहासले उच्च मूल्याङ्कन गर्ने बताउँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा अवस्थितमात्रै नभई देशको कुनै पनि सम्पदा परम्परागत शैलीमा पुनःनिर्माण गर्न भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू निरन्तर कटिबद्ध भएर लागिरहने विश्वास व्यक्त गरे । कार्यक्रममा नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले नेपालको ऐतिहासिक धरोहर र सम्पदालाई अझ नयाँपन दिई जीर्णोद्धार गर्नु समयको माग भएको बताए । इतिहास बोकेको भक्तपुरको रानीपोखरी जीर्णोद्धार गरी भक्तपुर नपाले देशकै लागि नमुना र उदाहरणीय कार्य गरेको उनले तर्क गरे ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य सृजना सैंजुले नगरपालिकाले जीर्णोद्धार गरेको ऐतिहासिक रानीपोखरी भक्तपुर जिल्ला र सिंगो देशका लागि उपहारस्वरुप प्राप्त बताइन् । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई नगरपालिकाले सार्थक बनाउँदै ऐतिहासिक रानीपोखरीको जीर्णोद्धार सम्पन्न गरेको जानकारी दिंदै नपाले पोखरीको उद्घाटनसँगै सर्वसाधारण जनताको लागि खुल्ला गर्ने बताइन् ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राखीपोखरी प्रवेश गर्ने बाह्य पर्यटकहरुलाई न्यून शुल्क उठाउन सके पोखरी संरक्षण, सरसफाई र मर्मत सम्भारमासमेत मद्दत पुग्ने बताइन् । संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भक्तपुर नपाले पोखरीको सम्पूर्ण जानकारी समाविष्ट पुस्तक प्रकाशन गरी उल्लेखनीय काम गरेको बताउँदै रानीपोखरी संरक्षणसँगै पोखरीको सुन्दरता अझबढेकोे बताए ।

विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीले नेपालका ऐतिहासिक एवम् सांस्कृतिक सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा नेपाल सरकारको प्रत्यक्ष र परोक्ष सहयोग हुनुपर्ने बताउँदै भक्तपुर नपाले विश्व सम्पदामा सूचीकृत सम्पदाहरु उपभोक्ता समितिबाट मौलिक र गुणस्तरीय ढंगले जीर्णोद्धार गर्दै आइरहेको बताए ।

त्यस्तै इतिहास्विद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक रानीपोखरी अध्ययन अनुसन्धानका क्रममा धेरै नयाँ तथ्यहरु पत्ता लागेको र पोखरीबारे प्रतिवेदन तयार गर्ने क्रममा वैज्ञानिक ढंगबाट विवेचनात्मक अध्ययन अनुसन्धान गर्न पाएको बताए । राष्ट्रिय कला संग्रहालयका कार्यालय प्रमुख मोहनसिंह लामाले नेपाली सेनाको मातहतमा रहेको भक्तपुरको रानीपोखरी संरक्षण र सम्बद्र्धनमा नपाबाट गठित समितिमा बसेर काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै भक्तपुर नपाले उपभोक्ता समिति र जनसहभागितामा गरेको कार्य सराहनीय रहेको बताए । यसरी नपाले गरेको कार्यले पुर्खाको सम्पत्ति संरक्षण भएको बताए ।

कार्यक्रममा भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले रानीपोखरी जीर्णोद्धारको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्राविधिक समितिका सुनिल दुवालले प्राविधिक समितिको प्रतिवेदन प्रस्तुत, भक्तपुर मासिकका सम्पादक लक्ष्मणराज जोशीले नपाबाट प्रकाशित पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सम्पदाको महत्वबारे आफ्नो विचार व्यक्त गरेका थिए ।

रु. २ करोड ७५ लाख ९५ हजार १९८.४० को कार्य मूल्यांकन रहेको उक्त पोखरीमा २२ टोलीका ८८४ जनाले जनश्रमदान गरेका थिए । पोखरीको कूल खर्च २ करोड ५४ लाख ८३ हजार ५८७.४७ रहेको नपाबाट प्रकाशित पुस्तकमा उल्लेख गरिएको छ । कार्यक्रमका उद्घाटन अगाडि विभिन्न बाजागाजा सहित दुधपाटीबाट ¥याली गरी जनउत्साहका साथ कार्यक्रम स्थलमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो । पोखरीको उद्घाटनकै अवसर पारेर साँझ रानीपोखरी परिसरमा दीपावली गरिएको छ । भिडियाे सहित…..

 

 


Thali Mobile Pvt.Ltd.