शिक्षा मन्त्रालयले नर्सिङको भर्नामा रोक लगाउनु जनविरोधी काम : नगर प्रमुख प्रजापति

शिक्षा मन्त्रालयले नर्सिङको भर्नामा रोक लगाउनु जनविरोधी काम : नगर प्रमुख प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भनपा भक्तपुरका मौलिक संरचनालाई जीवन्तता दिने प्रयासमा अग्रसर रहेको बताएका छन् । शनिबार भक्तपुर नपा वडा नं. २ ठूलो व्यासीस्थित छोसो फल्चाको उद्घाटन गर्दै मौलिक संरचनालाई जीवन्तता दिने बताएका हुन । नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणका कामलाई अगाडि बढाएको जानकारी दिए ।

उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई १०० शैय्याको अस्पताल नभएको भन्दै शिक्षा मन्त्रालयले नर्सिङको भर्नामा रोक लगाउनु केन्द्र सरकारको जनविरोधी काम भएको दाबी गरे । भक्तपुर नपाले स्तरी ख्वप अस्पतालबाट अन्तरंग सेवा सुरु गरिसकेको, ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतनको भवन निर्माण भइरहेको, वडा वडामा नियमित रुपमा स्वास्थ्य शिविर सञ्चालन, घरदैलो नर्सिङ सेवा सञ्चालनलगायतका गतिविधिहरु भइरहेको प्रमुख प्रजापतिले जानकारी दिए ।

उनले भने “हामी विदेशीसँग भिख मागेर बनाएका सम्पदाहरुबाट खुशी हुनुभन्दा आफ्नै पौरखमा जीर्णोद्धार र पुनःनिर्माण भएको सम्पदाहरुप्रति गर्व गर्छौं” उनले थपे नेपालको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि गम्भीर आँच पुग्ने राष्ट्रिय हित तथा असंलग्न परराष्ट्र नीति विपरीतको एमसीसी सम्झौता तत्काल खारेज गराउन नेमकिपाले खबरदारी जुलुस तथा सभाहरुको आयोजना गर्दै आइरहेको जानकारी समेत दिएका थिए । छोसो पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण बासुकलाले २०७८ वैशाख २० गतेबाट पुनःनिर्माण भएको पाटी रु. १४ लाख ८ हजार ३४७ बराबरको आर्थिक लागतमा पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.