पोखरा । शिव शिखर सहकारीका ११ जना सञ्चालकलाई ८ वर्षसम्म जेल सजायको माग दाबी गर्दै पोखरा शाखाका बचतकर्ताले सहकारीको डिपार्टमेन्टल स्टोरबाट रकम बराबरको सामान उठाउनेमा सहमत भएका छन् । उनीहरुले जग्गा लिनेसम्मको सहमति गर्दै अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।
शिव शिखर सहकारीको पोखरा शाखाले सेवा केन्द्र भनेर दुई ठाउँमा सहकारी कार्यालयकै रुपमा कारोबार गर्दै आएको थियो । २ वटा डिपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेको थियो । सञ्चालकले रकम हिनामिना गरेको सार्वजनिक भएपछि पोखराका बचतकर्ता पोखरा महानगरदेखि, सहकारी विभाग हुँदै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोसम्म पुगेका थिए ।
सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गर्दै अन्य क्षेत्रमा लगानी गरेको सार्वजनिक भएपछि यसका सञ्चालक केदारनाथ शर्मासहित पुष्कर मल्ल, अमिशराज भण्डारी र गीता शर्मा प्रहरीको नियन्त्रणमा छन् । शिव शिखरका ११ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये सुशील बानियाँ, भोजराज पौडेल, तेजबहादुर तामाङ, दीपकबहादुर वयर, राजु साखकर्मी, लिलानाथ गौैतम, रमेश न्यौपाने अझै फरार छन् ।
काठमाडौंमा यो सहकारीका मुख्य सञ्चालक केदार शर्मा पक्राउ परेसँगै पोखरामा पनि बचतकर्ताबाट जाहेरी लिन सुरु गरिएको थियो । पोखरामा १ हजार जना बचतकर्ताले ५४ करोड २३ लाख ८५ हजार ३६८ रुपैयाँ माग दाबी गर्दै किटानी जाहेरी दिएका छन् । बचत गर्नेले जग्गा लिन चाहेमा त्यसको विकल्प पनि दिइएको छ । जग्गा लिन चाहनेले चल्तीको भाउमा देशको जुनसुकै ठाउँबाट पनि जग्गा लिन सक्ने सहमति गरेका छन् ।
प्राप्त जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ताका लागि फाइल सरकारी वकिलको कार्यालयमा पठाएको छ । ११ जना सञ्चालकविरुद्ध ५४ करोड २३ लाख ८५ हजार बिगो र ६ देखि ८ वर्ष जेल सजायको माग दावीसहित मुद्दा दर्ताको तयारी भएको हो । पक्राउ पर्नेहरुलाई पोखरा झिकाएर बयान लिएर पठाइएको थियो । अनुसन्धानमा शिखर अर्गनाइजेसनको नाममा रकम गएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
भक्तपुरको अनुमति लिएर पोखरामा सेवा केन्द्रका नाममा रकम उठाउने, कारोबार गर्ने गरेको पाइएको इन्स्पेक्टर सुवास तिमिल्सिनाले बताए । पोखरामा जम्मा भएको रकम सिधै काठमाडौं जाने पुग्थ्यो । डिपार्टमेन्टर स्टोर देखाउँदै विभिन्न स्किमहरु र धेरै ब्याजदर दिने भन्दै शिव शिखरले बचतकर्ता लोभ देखाएको थियो ।
सहकारीमा बचत गर्नेलाई पोखराका २ वटा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरबाट छुट दिने स्किम ल्याएको, कर्मचारीका निम्ति पनि छुट्टै खालको स्किम ल्याएर सहकारीमा आकषिर्त गरेको शिव शिखर पीडित संयोजन समिति संयोजक देकराज तिमिल्सिनाले बताए । पोखरामा चटपट बिक्री गर्ने नागरिकका सानो बचतदेखि डेढ करोड रुपैयाँ बचत गर्ने धनाड्यसम्म छन् ।
शिव शिखर अन्तर्गतका देशैभरिका सहकारीमा समस्या आएपछि पोखरामा पनि रकम डुब्ने डरले बचतकर्ता अत्तालिएका थिए । ५ दिनअघि मात्र शिव शिखरका प्रतिनिधि र बचतकर्ताले समान बुझ्ने सहमति गरेका हुन् । सञ्चालक केदार शर्माको प्रतिनिधि बनेर डा. विजय भट्टराई र गोपालबहादुर थापा वकिलसहित पोखरा आएका थिए । उनीहरु र बचतकर्ताबीच विभिन्न सर्तहरुमा २०८१ सालभित्र सबै बचत रकम फिर्ता गर्ने गरी सहमति भएको हो ।
ठूलो रकम बचत गर्नेले जग्गा लिन चाहेमा त्यसको विकल्प पनि दिइएको छ । जग्गा लिन चाहनेले चल्तीको भाउमा देशको जुनसुकै ठाउँबाट पनि जग्गा लिन सक्ने सहमति भएको हो । सहकारीबाट सबै पैसा डुब्ने हो कि भन्ने चिन्ताका बीच विकल्पसहित सहमति गर्न बाध्य भएको तिमिल्सिनाले बताए । शिव शिखर सहकारीले पोखरा र बागलुङमा डिपार्टमेन्टल स्टोर्ससमेत चलाइरहेको थियो भने लमजुङमा तयारी गरिरहेको थियो । म्याग्दीमा समेत कार्यालय खोलेर कारोबार गरेको थियो ।
