भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरुले शैक्षिक गुणस्तरमा उचाइ प्राप्त गरिरहेको बताएका छन् । भक्तपुरको च्याम्हासिंह र कमलविनायकमा बनाइएको बागीश्वरी माविको नयाँ भवन उद्घाटन गर्दै मेयर सुनिल प्रवापतिले उक्त कुरा बताएका हुन ।
बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ताम्रपत्र अनावरण गर्दै बागीश्वरी मावि भक्तपुरको मात्र नभई देशकै नमुना विद्यालय भएको बताए । प्रमुख प्रजापतिले सामुदायिक शिक्षामा विद्यार्थीको पहिलो रोजाइ हुन सफल बागीश्वरीमा नर्सरीदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन भइरहेको जानकारी दिए ।

नगर प्रमुख प्रजापतिले कुनै पनि बन्द, हड्तालमा भक्तपुरका विद्यालय तथा कलेजहरु बन्द नहुनु नै भक्तपुरको शैक्षिक विशेषता भएको बताउँदै बागीश्वरीको नवनिर्मित भवनको अधिकत्तम उपयोग गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई निर्देशन दिए ।
प्रजापतिले भक्तपुर नपाले सामुदायिक शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी समेत दिए । कार्यक्रममा बोल्दै बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले बागीश्वरीले देशको शैक्षिक प्रगतिमा उल्लेखनीय भूमिका खेल्दै आएको चर्चा गरे ।
उनले भवन निर्माणमा सहयोगी सम्पूर्णमा विद्यालय परिवारको तर्फबाट धन्यवादज्ञापन गर्दै जुन उद्देश्यले विद्यालय भवन निर्माण भएको हो, त्यो उद्देश्य प्राप्तिको लागि विद्यालय परिवार दत्तचित्त भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । सी.एल.पी.आइ.यु.का प्रमुख डिल्लीराम लुईटेलले २०७२ सालको भूकम्पपश्चात नेपाल सरकारले ८ हजारभन्दा बढी विद्यालय भवन निर्माण गरिरहेको जानकारी गदिए ।
डी.एल.पी.आइ.यु.का प्रमुख रमेश मैनालीले नवनिर्मित भवनसँगै लाखौं विद्यार्थीहरुको भविष्य जोडिएको बताउँदै उत्कृष्ट नेतृत्वकै कारण बागीश्वरीको शैक्षिक सफलता सम्भव भएको तर्क गरे । कार्यक्रममा विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले भवन निर्माणको आय–व्यय प्रस्तुत गर्दै बागीश्वरीको नयाँ भवनबाट छिटै व्यवस्थित रुपमा कक्षा सञ्चालन हुने बताए ।
