भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

सगरमाथा राष्ट्रिय निकुञ्जमा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट

सगरमाथा राष्ट्रिय निकुञ्जमा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट

पदेश १ । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो ।  गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट रु चार करोड २८ लाख ९८ हजार ५५३ र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट रु १५ लाख २४ हजार ६११ राजश्व सङ्कलन गरेको थियो ।

कार्यालयले चालू आवको सोही अवधिमा पर्यटक प्रवेश शुल्कबाट रु पाँच लाख १६ हजार ३५० र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३०६ रुपैयाँ २५ पैसा मात्रै सङ्कलन गरेको जनाएको छ ।  निकुञ्जको मुख्य आम्दानी नै सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकबाट लिने प्रवेश शुल्क र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्क हो । खुम्बु क्षेत्रका लागि वर्षमा दुईपटक चैत–जेठ र असोज–मङ्सिरलाई मुख्य पर्यटकीय मौसम मानिन्छ । यही मौसममा कोभिड– १९ को महामारी विश्वभरी फैलिएपछि नेपालमा पनि लकडाउनले पर्यटक आवागमन ठप्प बनाएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा भारीमात्रामा गिरावट आएको हो । उहाँका अनुसार विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार ५०० र एकपटक हेलिकप्टर अवतरण गरेबापत तीन हजार अवतरण शुल्क लिने गरेको छ ।

विसं २०३२ मा स्थापना भएको निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् । सन् १९७९ देखि निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएको थियो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।

यसैबीच राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार चालू आवको पहिलो चौमासिकमा ६८८ पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । कोरोना कहरका बीच चालू आवको साउन, भदौ, असोज र कात्तिक महिनामा १३३ विदेशी र ५५५ स्वदेशी पर्यटकले भ्रमण गरेको कार्यालयले जनाएको छ ।

गत साउन र भदौमा शून्य बनेको पर्यटन गतिविधि असोजमा १४६ स्वदेशी तथा २५ विदेशी नागरिकले भ्रमण गरेका थिए भने कात्तिकमा ४०९ स्वदेशी तथा १०८ विदेशी पर्यटकले भ्रमण गरेका थिए । गत आवको पहिलो चौमासिकमा १७ हजार ५६६ विदेशी र ४८८ स्वदेशी गरी १८ हजार ५४ पर्यटकले निकुञ्जको भ्रमण गरेको कार्यालयले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.