जाजरकोट । भूकम्पका कारण घरबारविहीन बनेका पीडितले हालसम्म राहत पाउन नसकेको गुनासो गरेका छन् । सरकारी तथा गैरसरकारी निकायले भूकम्पपीडितका लागि उपलब्ध गराउने भनिएको राहत सामग्री सुगममै थन्किएको हो ।
सबैभन्दा क्षति पुगेको जाजरकोट सदरमुकाम खंलगा र पालिकाको केन्द्रमै राहत थन्किएको छ । उपलब्ध गराएको राहत सामग्री सुगममै थन्किएका कारण सबैभन्दा मारमा दुर्गमका पीडितहरू परेका छन् ।
एकद्वार प्रणालीबाट राहत वितरण गरिएको जनाएको जिल्ला प्रशासन कार्यालयले जाजरकोटले दावी गरेपनि राहत सामग्री दुर्गमका पीडितसम्म पुग्न नसकेको हो । राहत सामग्री सदरमुकाम र पालिकाको केन्द्रसम्म पुगे पनि पीडितले पाउन नसक्दा थप संकट पैदा भएको छ ।
भूकम्पबाट घरबारविहीन भएको तीन दिनसम्म पनि त्रिपाल, खाद्यान्न र कपडालगायतका राहत सामग्रीहरू नपाउँदा थप समस्या भएको पीडितको गुनासो छ । नलगाडमा पीडितहरू चिसोका कारण बिरामी पर्न थालेका छन् । त्रिपालबिनै चिसोमा रात काट्नु परेका कारण रुघाखोकी र ज्वरोको समस्या देखिएको छ ।
