काठमाण्डौ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम व्यवसायीहरुको आन्दोलन स्थगित भएपछि पेट्रोलियम पदार्थको कारोबार नियमित हुने भएको छ । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार सहमतिपछि कारोबार सुचारु हुने भएको हो । समन्वय समितिले गएको फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी माग पेस गरेको थियो ।
छलफलबाट पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा आउँदो जेठ १५ सम्ममा टुङ्गोमा पुग्ने सहमति भएकोपछि आन्दोलन स्थगित भएको जनाइएको छ । सहमतिसँगै आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू स्थगित गरेका छन् । पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू सञ्चालन गरिने निगमले जनाएको छ ।
