भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साउने १५ पर्व मनाइँदै

साउने १५ पर्व मनाइँदै

महोत्तरी । महोत्तरी जिल्लाका गाउँ, नगर बस्तीमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण जुटेका छन् । जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा पर्वते मूलका हिन्दू धर्मावलम्बीको सघन बसोबास छ ।

सामान्यतया असार र साउन मासको धान रोपाइँमा हिलोमा धसिएर काम गर्दा चिसाले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ । यद्यपि यसपालि असार मध्यपछिको मुसलधारे बर्खासँगैको भेलले रोपेको रोपो बगाएको, गलाएको र त्यसयताका बीउको अभाव एवं डुबान समस्याले अपेक्षित रोपाइँ नभएको यहाँका किसान बताउँछन् ।

वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ राम्रो नभएपछि खुशीले भन्दा परम्परा थेग्न मात्रै साउने १५ पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ । पर्वमा खिर खाने परम्परा थेग्न बिहानैदेखि दूधको जोहोमा भौँतारिनुपरेको धेरैजसोले बताएका छन् । पर्वको अवसरमा दूधको एक्कासि अभाव भएको र मूल्य पनि आकासिएको सर्वसाधारणको गुनासो छ ।

बस्तीमा पछिल्लो एक वर्षयता रु ६० प्रतिलिटर पाइँदै आएको दूध आजचाहिँ रु ८० मा पनि नपाइएको भङ्गाहा–४ रामनगरकी दीपमाया श्रेष्ठ बताउनुहुन्छ । जिल्लाका बर्दिवास, गौशाला र औरहीका बजार क्षेत्रमा पनि दुग्ध पसलमा आज दूध लिनेको भीड छ । साउने १५ पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँचेलालाई निम्ता गरेर खिर ख्वाउने पुरानो परम्परा रहेको बूढापाका बताउँछन् । जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगर क्षेत्रका बजारमा दूधको माग निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.