काठमाडाैं । जर्मन क्लब बार्यन म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । मेक्सिकन क्लब टिग्रेसलाई पन्छाउँदै बार्यनले दोस्रो पटक उपाधि आफ्नो नाममा गरेको हो । फाइनलमा टिग्रेसलाई एक शून्यको झिनो अन्तरले हराउँदै बार्यनले सात वर्षपछि क्लब विश्वकपको उपाधि चुम्यो । बार्यनले समग्रमा क्लब विश्वकपको उपाधि दोस्रो पटक जितेको हो । कतारको दोहामा भएको फाइनलमा मेक्सिकन टिग्रेसलाई हराउनका लागि बार्यनका तर्फबाट एकमात्र गोल पाभार्डले गरे ।
५९औँ मिनेटमा पाभार्डले गरेको गोललाई रेफ्रीले अस्विकार गरेपनि भिएआरको सहायताले मान्यता पाएको थियो । यसअघि, खेलको १८औँ मिनेटमा जोस्वा किमिचले बार्यनका लागि गोल गरेका थिए । तर, उक्त गोललाई भिएआरको सहायतामा मान्यता दिइएन । जसका कारण पहिलो हाफ गोलरहित बराबरी भएको थियो । क्लब विश्वकपको उपाधिसँगै बार्यनले पछिल्लो नौ महिनामा छैटौँ उपाधि जितेको छ ।
यस अवधिमा बार्यनले युइएफए सुपर कप, जर्मन सुपर कप, बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि जितिसकेको छ । बार्यनको जितसँगै युरोपियन च्याम्पियनले क्लब विश्वकपको उपाधि जितेको यो लगातार आठ वर्ष भएको छ । अघिल्लो सिजनमा लिभरपुलले यो प्रतियोगिताको उपाधि जितेको थियो ।
