भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो

ढोरपाटन । स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्नकै लागि घण्टौँको दूरी पार गर्नुपथ्र्यो । घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो । शौचालय, खानेपानी र पुस्तकालय किताबमा पढिन्थ्यो । प्रयोग गर्न पाइँदैनथ्यो । तर अहिले त्यस्ता समस्या केही विद्यालयमा बाहेक धेरैमा छैन । पक्की भवन, खेलमैदान र अन्य पूर्वाधार अधिकांश विद्यालयमा बनेका छन् ।

विद्यालयमा भौतिक संरचना थपिँदै छन् भने गुरणस्तर खस्कँदो छ । पहिलेको जस्तो विद्यार्थीको चाप पनि छैन । गाउँगाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या साह्रै न्यून छ । अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋण धन गरेरै निजी विद्यालयमा छोराछोरी पढाउन थालेका छन् । विद्यार्थी घट्दै गएपछि बागलुङका केही पालिका विद्यालय समायोजन गर्ने तयारीमा छन् ।

जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिकालगायतका पालिकाले विद्यालय समायोजन गर्न थालेका हुन् । बडिगाड गाउँपालिकाले यसभन्दा अगाडि चार विद्यालय समायोजन गरेको छ । २० जनाभन्दा कम विद्यार्थी भएका विद्यालय गाभेर पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । यस वर्ष करिब चार विद्यालय समायोजन गर्ने चरणमा रहेको उहाँको भनाइ छ ।

घर्तीले भन्नुभयो, “विद्यार्थी कम भएका विद्यालयलाई नजिकको सँग ‘मर्ज’ गर्ने भएका छौँ, बजार क्षेत्रका विद्यालयमा विद्यार्थी निकै बढिरहेका छन्, अहिले समस्या भनेको गाउँका विद्यालयमा हो, गाउँबाट सबै मान्छेहरु सेवा सुविधा खोज्दै बजार झर्ने गरेका छन्, त्यसको प्रत्येक्ष असर गाउँका विद्यालयमा परेको छ, यहाँका केही विद्यालयमा भने विद्यार्थी बढी छन् ।”

गलकोट नगरपालिकाले दर्जन बढी विद्यालय समायोजन गर्ने भएको छ । नगरपालिकाले समायोजनका लागि कार्यविधि बनाएको नगर शिक्षा अधिकृत शिव खड्काले जानकारी दिनुभयो । नगरपालिकाले कक्षा १–३ मा १५ जना, कक्षा १–५ मा २५ जना, कक्षा ६–८ मा २१ जना, कक्षा ९–१० मा २५ जना र ११–१२ मा २५ जना विद्यार्थी नभएका विद्यालयलाई समायोजन गरिने खड्काको भनाइ छ ।

उहाँका अनुसार विद्यार्थी कम भएका करिब १५ वटा विद्यालय समायोजन गर्ने अवस्थामा रहेका छन् । काठेखोला गाउँपालिकामा दुई विद्यालय समायोजन गर्ने स्थितिमा रहेका छन् । बागलुङ नगरपालिकामा पनि धेरै विद्यालय समायोजन गर्नुपर्ने देखिएको छ । नगरपालिकाले विद्यालय समायोजनसम्बन्धी नीति बनाएर पठनपाठनलाई प्रभावकारी बनाउने जनाएको छ । नगरपालिकाका शिक्षा शाखा अधिकारी धनप्रसाद पोखरेलले बजारमा भन्दा बढी समस्या गाउँका विद्यालयमा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा साना कक्षामा विद्यार्थी छैनन्, बजारमा माथिल्लो तहमा पढ्ने विद्यार्थी छैनन्, ११÷१२ पास ग¥यो भने विद्यार्थी विदेश हिँडी हाल्छन्, यो बागलुङको मात्रै समस्या होइन देशभर यस्तै छ, नगरपालिकाले विद्यार्थीलाई मर्का नपर्ने गरी विद्यालय समायोजन गर्ने छ, थोरै विद्यार्थी भएको विद्यालयमा पठनपाठन गाह्रो नै हुन्छ ।”

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएपछि विद्यार्थीको आकर्षण निजी विद्यालयतर्फ बढिरहेको छ । निजी विद्यालयमा तल्लो तहदेखिनै विद्यार्थीको चाप देखिन्छ । शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले शिक्षाको गुणस्तर वृद्धि गर्न नसकेसम्म विद्यार्थी बढाउन नसकिने बताउनुभयो । सामुदायिक विद्यालय अब भौतिक पूर्वाधारमा कमजोर नभएको भन्दै गुणस्तर बढाउनतर्फ लाग्नुपर्नेमा प्रमुख उपाध्यायले जोड दिनुभयो ।

“सामुदायिक विद्यालयमा गुणस्तरीय पढाइ नभएको होइन, राम्रो पढाइ हुन्छ, जहाँका समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक सक्रिय हुन्छन् त्यो विद्यालयमा निजीमा भन्दा राम्रो पढाइ भएको छ, उपलब्धि पनि उस्तै छ”, उपाध्यायले भन्नुभयो, “धेरै ठाउँमा सामुदायिक विद्यालयप्रति धेरैले चासो दिँदैनन्, गाउँका विद्यालयलाई राम्रो बनाउने विद्यार्थी टिकाउने हो भने समुदाय पनि जिम्मेवार हुन जरुरी देखिन्छ ।”

उहाँले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्नुको मुख्य कारण बसाइँसराइ भएको बताउनुहुन्छ । पछिल्लो समय मानिस विलासिता खोज्दै सहज बजार झर्ने र बालबालिकालाई पनि सँगै लैजाने गर्दा गाउँका विद्यालयमा विद्यार्थीको अभाव हुन थालेको उहाँको भनाइ छ । ग्रामीण क्षेत्र सबै प्रकारका विकासले जोडिए विद्यार्थी बढाउन सकिने उपाध्यायले बताउनुभयो ।

जिल्लामा अहिले पाँच सय १४ सामुदायिक र ५९ निजी गरी पाँच सय ७३ विद्यालय सञ्चालनमा छन् । शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका अनुसार ६२ हजार तीन सय २१ जना सामुदायिक र ११ हजार तीन सय ७० जना गरी ७४ हजार तीन सय ५७ जना विद्यार्थी अध्ययनरत छन् । जिल्लाभर ७४ हजार तीन सय ५७ विद्यार्थी रहेका छन् । जसमा ३५ हजार नौ सय ८० छात्रा र ३८ हजार तीन सय ७३ जना छात्र अध्ययनरत रहेका छन् ।

जिल्लाभर १४ दशमलव आठ प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययन गरिरहेका छन् । सामुदायिकतर्फ छात्र ३१ हजार आठ सय ९७ जना र छात्रा ३१ हजार चार सय २० जना छन् भने निजी विद्यालयमा छात्र छ हजार चार सय ७६ र छात्रा चार हजार पाँच सय ६० जना अध्ययन गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.