काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनका विषयमा मन्त्रालय र विभाग तथा सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको छ । नेपाली सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयले नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढ तुल्याउँदै समन्वयका क्षेत्र पहिचान गरी कार्यान्वयनमा सहजता ल्याउने उद्देश्यका साथ सीमा सुरक्षासम्बन्धी गोष्ठी आयोजना गरेको हो ।
नेपाली सेनाले सदैव नेपाल सरकारको आदेश–निर्देशनमा कठिनता वा प्रतिकूलतालाई बेवास्ता गर्दै, राष्ट्रसेवामा समर्पित रहेको प्रधानसेनापति प्रभुराम शर्माले बताए । नेपाली सेनाले प्राप्त जिम्मेवारीमध्ये सीमा सुरक्षाको विषयलाई राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डतासँग जोडेर निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको उनको भनाइ छ ।
जस्तोसुकै विकराल र जटिल समस्या भए पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।
उक्त सेमिनारको उद्घाटनका क्रममा रक्षा सचिव किरणराज शर्माले सीमा सुरक्षा तथा व्यवस्थापनको पक्षबाट समग्र राष्ट्रिय सुरक्षा सुदृढीकरणका लागि नेपाल सरकारका सम्बद्ध निकायबीच पारस्परिक समन्वय र सहकार्य अपरिहार्य रहेको बताए । आगामी दिनमा सीमा सुरक्षालाई प्रविधिमैत्री र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने नीतिअन्तर्गत आवश्यक कदम अघि सारेको जानकारी दिए ।
नेपालको अन्तर्राष्ट्रिय सिमानाको वर्तमान अवस्था, सीमा सुरक्षा र व्यवस्थापनमा देखिएका चुनौती तथा सुधारका क्षेत्र, नेपालको अन्तर्राष्ट्रिय सिमानामा हुने अवैध गतिविधि र नियन्त्रणका उपाय, सीमा सुरक्षामा नेपाली सेनाको जिम्मेवारी तथा एकीकृत सीमा सुरक्षा अवधारणाको आवश्यकता,
सीमा सुरक्षा तथा व्यवस्थापनमा राष्ट्रिय अनुसन्धान विभागको जिम्मेवारी एवं भूमिका र सीमा सुरक्षामा दीर्घकालीन रूपमा खलल पु¥याउने विषय तथा नियन्त्रणका उपाय, राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा सीमा व्यवस्थापन, वर्तमान अवस्था र भावी कार्यदिशा, नेपालको सीमा विवाद समाधानका लागि भइरहेको कूटनीतिक पहल र आगामी कार्य योजना, नेपालको अन्तर्राष्ट्रिय सिमानाको सीमाङ्कनसम्बन्धी प्राविधिक पक्षलगायत विषयमा छलफल भएको थियो ।
