भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

सुन्तला खेतीमा आकर्षण

सुन्तला खेतीमा आकर्षण

गलकोट । परम्परागत बाली छाडेर व्यावसायिक फलफूल खेती गर्ने कृषकलाई बागलुङ नगरपालिकाले उब्जनी अनुदान दिएको छ । नगरपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम अनुदानवापत प्रदान गरिएको हो । परम्परागतरूपमा गरिँदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानलाई उत्पादन बराबरको रकम प्रदान गरिएको हो ।

आर्थिक वर्ष २०७७–७८ मा परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका ४५ किसानलाई नगद रकम अनुदान प्रदान गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । सुन्तला जोनमा समेटिएको बागलुङ–८ सिगानाका ४५ कृषकलाई सुन्तलाका नयाँ बिरुवा रोपेवापत प्रोत्साहन र सुन्तलाको प्रतिफल नदिँदासम्मको अन्न बालीवापतको रकम प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिनुभयो ।

“सिगाना भौगोलिक हिसाबले सुन्तलाको अत्यन्तै राम्रो क्षेत्र मानिन्छ, अहिले वार्षिक दुई करोड दाना सुन्तला निर्यात हुने रहेछ, यसलाई बढाउनका लागि किसानलाई प्रोत्साहनस्वरुपप्रति रोपनी रु तीन हजारका दरले उब्जनी अनुदान दिएका छौँ”, केसीले भन्नुभयो, “एक रोपनीमा २० सुन्तलाका बिरुवा हुन्छन्, सुन्तला फल्न पाँच वर्ष लाग्छ, त्यतिका समयसम्म किसानको अन्नबाली उब्जनी हुँदैन, त्यसैले अनुदान दिएका छौँ ।”

नगरभित्रका जमिनको वर्गीकरण गरी उपयुक्त बाली लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान शुरु गरिएको र किसान उत्साहित भएर सुन्तला खेतीतर्फ लागेका बताइएको छ । परम्परागत खेती त्यागेर फलफूल खेती गर्न इच्छुक किसानलाई उक्त जग्गामा उत्पादन हुने बालीवापतको रकम नगरपालिकाले दिने नीतिअनुसार तीन वर्षदेखि रकम वितरण गरिरहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

नगरपालिकाले तीन वर्षको बीचमा सिगानामा मात्रै अनुदानमा वितरण गरेको र किसान आफैँले लगाएको गरेर ३५ हजार बिरुवा थपिएको कृषि शाखाको तथ्याङ्कमा उल्लेख छ । अबका पाँच वर्षमा सिगानामा करोडौँको सुन्तला भित्र्याउने सिगानाका किसानले लक्ष्य राखेका छन् । पहाडी भूभाग भएका कारण परम्परागत खाद्य बाली लगाउँदा दुःख बढी हुने र उत्पादनसमेत कम हुने भएकाले परम्परागत बाली त्यागेर व्यावसायिक फलफूल खेती गर्नेलाई प्रोत्साहन गर्ने नगरपालिकाको अभियान सकरात्मक भएको वडा नं ८ का अगुवा सुन्तला किसान रामबहादुर खड्काले जानकारी दिनुभयो ।

कोदो, मकै फलाएर ज्याला नउठ्ने जग्गामा सुन्तला लगाएर लाखौँ आम्दानी हुने भएपछि नगरपालिकाका सिगाना, तित्याङ, भकुण्डे, मालिकालगायतका क्षेत्रमा सुन्तला खेती प्रवद्र्धन कार्यक्रममा नगरपालिकाले अगुवाइ गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.