भक्तपुर । आगामी असोजदेखि सरकारले सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने र त्यो सकिएपछि नै यातायात व्यवस्था विभाग तथा अरू निकायको काम हुने विभागका प्रवक्ता ईश्वरदत्त पनेरुले जानकारी दिए । सडक विभागले आवश्यक खण्ड सडक छुट्याएर ‘रोड मार्किङ’ गर्ने उनको भनाइ छ ।
सडक विभागले गर्ने काम सकिएपछि अरू निकाय तयारी अवस्थामा रहेको उनले बताए । यातायात व्यवसायीले सवारी साधन उपलब्ध गराउन तयारी अवस्थामा रहेको र ट्राफिक प्रहरीले आफूले गर्ने काम गर्ने उनको भनाइ छ । असोज भित्रै गरिने भए पनि पहिले लक्ष्य लिइएकोभन्दा आठ–१० दिन तलमाथि हुन सक्ने पनेरुको भनाइ छ ।
कुन मितिबाट बस सुरु हुन्छ भन्ने कुरा सडक विभागको काममा निर्भर रहेको छ । यातायात व्यवस्था विभागले समन्वय, सहकार्य र नियमनको काम गर्ने उनको भनाइ छ । दु्रतमार्गका लागि सडकको दुवैतर्फको लेन छुट्याइने गरी तयारी गरिएको उनले बताए ।
उपत्यकामा अत्यधिक सवारी साधनको चाप बढेका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालय आफैँले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको जनाएको छ ।
पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो । आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने विभागले जनाएको छ ।
