कास्की । पोखरा महानगरपालिका–ं १७ मा पर्दछ सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर । पोखराको प्राचीन धार्मिक महत्वको तीर्थस्थलका रुपमा मन्दिरले चर्चा कमाएको छ । रामकालीन कहानी जोडिएको मन्दिर स्थापनाको प्रमाण भने १८औँ शताब्दीका छन् । मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीका अनुसार यहाँस्थित हरिहर मन्दिरको प्राप्त लालमोहरबाट मन्दिर विसं १८६४ सालमा स्थापना भएको पुष्टि हुन्छ । प्राचीन मन्दिर जीर्ण भएपछि पुरानै मौलिकस्वरुप अनुसार हाल रहेको मन्दिर निर्माण भएको उहाँले बताउनुभयो ।
पछिल्ला समयमा हरिहर मन्दिर क्षेत्रलाई व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अध्यक्ष भण्डारीले मन्दिरको प्रवेशद्वार निर्माणसँगै मन्दिर परिसरमा हनुमानको मूर्ति, १०८ शिवलिङ, १०८ धाराआदि निर्माण गरिएको जानकारी दिनुभयो । यहाँ प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन लाग्ने मेला रामकालीन समयदेखि नै सञ्चालनमा आएको किम्बदन्ती रहेको ८४ वर्षीय कर्णाखर भण्डारीले बताउनुभयो । “हरिहर मन्दिर, सीताको पाइलाको चक्रआदि यहाँको ऐतिहासिकताका ज्वलन्त प्रमाण हुन्”, उहाँले भन्नुभयो, “मन्दिरको पुनःनिर्माणका क्रममा खन्दा तत्कालीन समयमा हातले नै बनाइएका इँटा फेला परेका थिए ।” विसं २०१३ मा राजा महेन्द्रको पोखरा भ्रमणका क्रममा यहाँको ऐतिहासिकतालाई बुझेर सीता पाइला भन्ने गरिएको स्थानमा उत्खनन् गर्न लगाउँदा सीताको पाइलाको चक्र फेला परेको उहाँले बताउनुभयो । सीता पाइलाको चक्र रहेको बर पिपलको फेद नै एउटै रहनु यहाँको अर्को विशिष्टता हो ।
मन्दिरको नजिकै रहेको महतगाँैडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघु पनि यहाँको ऐतिहासिकताको ज्वलन्त प्रमाण हो । माघे सङ्क्रान्तिमा यसै क्षेत्रमा लाग्ने मेला भएकाले यसलाई ढङ्गेसाँघुको मेला भन्ने गरिएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी बताउनुहुन्छ । ढुङ्गेसाँघुसँग नाम जोडिएको मेला भने भगवान रामसीताको कथासँग पनि जोडिएको छ । भगवान राम र सीताले माघे सङ्क्रान्तिको दिनमा यही स्थानमा बसेर खाजा खाएको धार्मिक विश्वासका आधारमा प्राचीनकालदेखि यस दिनमा यही जम्मा भएर शखर, चिउरा, तरुल खानेगरी मेलाको सुरुआत हुँदै आएको विश्वास रहेको उहाँले बताउनुभयो । माघे सङ्क्रान्तिका दिनमा सम्पूर्ण देवीदेवता हरिहरको दर्शनका लागि यही स्थलमा आउने भएकोले यहाँ आएर स्नान एवम् दर्शन गर्नेले सम्पूर्ण देवीदेवताको दर्शन गर्न पाउने धार्मिक विश्वास पनि कायमै छ ।
अध्यक्ष भण्डारीका अनुसार यहाँस्थित हरिहर मन्दिरको प्राप्त लालमोहरबाट मन्दिर विसं १८६४ मा स्थापना भएको पुष्टि हुन्छ । प्राचीन मन्दिर जीर्ण भएपछि पुरानै मौलिकस्वरुप अनुसार हाल रहेको मन्दिर निर्माण भएको उहाँले बताउनुभयो । पछिल्ला समयमा हरिहर मन्दिर क्षेत्रलाई व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अध्यक्ष भण्डारीले मन्दिरको प्रवेशद्वार निर्माणसँगै मन्दिर परिसरमा हनुमानको मूर्ति, १०८ शिवलिङ्ग, १०८ धाराआदि निर्माण गरिएको जानकारी दिनुभयो ।
यहाँ लाग्ने मेला रामकालीन समयदेखि नै सञ्चालनमा आएको किम्बदन्ती रहेको भण्डारीको भनाइ छ । मन्दिरको पुनःनिर्माणका क्रममा खन्दा हातले नै बनाइएका इँटा फेला परेको उहाँले जानकारी दिनुभयो । मेला लाग्ने परिसरमा रहेको प्राचीन बर पिपलको फेदमा सीताको पाइलाको चक्र रहेको उहाँले बताउनुभयो । विसं २०१३ मा राजा महेन्द्रको पोखरा भ्रमणका क्रममा यहाँको ऐतिहासिकतालाई बुझेर सीतापाइला भन्ने गरिएको स्थानमा उत्खनन् गर्न लगाउँदा सीताको पाइलाको चक्र फेला परेको उहाँको भनाइ छ ।
स्थानीय मन्दिर व्यवस्थापन समितिका सदस्य डिलुमाया भण्डारीले हरिहर मन्दिरमा रहेको मूर्ति पोखरा क्षेत्रकै प्राचीनमूर्ति रहेको बताउनुभयो । समय समयमा मन्दिर परिसरमा नाग देखापर्ने र हरिहरको मूर्तिको छिद्रबाट अनाँैठो जीव देखिने गरेको उहाँले अनुभव सुनाउनुभयो । मन्दिर परिसरमा समय समयमा बाघ देखिने गरे पनि मन्दिरमा पालिएका गाई सुरक्षित रहनुलाई धार्मिक आस्था एवम् विश्वासका साथ हेर्ने गरिएको उहाँको भनाइ छ । यस क्षेत्रका रहेका सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर, सीता मन्दिर, शिव मन्दिर, नारायण मन्दिर, सिद्धेश्वर मन्दिर, गणेश मन्दिर आदिका कारण यहाँको गरिमा र महत्व बढाएको सदा शिवजी सिद्देश्वर हरिहर मन्दिरका पूर्व अध्यक्ष ऋषिराम भण्डारी बताउनुहुन्छ ।
यस क्षेत्रमा शिवरात्री, रामनवमी, कृष्णा जन्माअष्टमी, जनैपूर्णिमालगायत चाडपर्व र तिथिमा पनि विशेषमासमेत भीड लाग्ने उहाँले बताउनुभयो । कुनै प्राविधिकको सहयोग बिना नै प्राचीनकालदेखि नै प्राकृतिक रुपमा बनेको सेती नदी माथिको ढुङ्गे साँघुमा ठूला सवारीसाधन आवातजावत नगरेपनि ट्याक्सी र मोटरसाइकल भने ओहोरदोहोर गर्दछन् । यहाँको ढङ्गेसाँघु कसरी बन्यो भन्ने सम्बन्धमा चासो भए पनि यो अझै अनुसन्धानको पर्खाइमा छ । पोखरा उपत्यकाको उत्पत्तिसँगै यहाँ उक्त पुल निर्माण भएको हुनसक्ने तर्क छ ।
प्राचीनकालमा अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको आसपासका हिमताल फुट्दा भीषण बाढीसँगै आएको माटो, बालुवा, गेग्य्रान, चट्टान र वनपैदावारका कारण पोखरा उपत्यकाको उत्पत्ति भएको अनुमान गरिन्छ । त्यही समयमा सेती नदी माथिको प्राकृतिक ढुङ्गेसाँघुको निर्माण भएको भूगर्भविद्हरू बताउँछन् । पोखरा उपत्यका बन्ने क्रममा सेती नदीको दायाँबायाँ जमिनमा धाँजा फाटेर विपरीत दिशाबाट एकै साथ ढलेका ठूलाठूला दुईवटा चट्टान एकापसमा जोडिएको र नदीको पानीले तल्लो भाग खोलेर निकास बनाएपछि जोडिएको उपल्लो भागले पुलको आकार लिएको हुनसक्ने अनुमान गरिएको छ ।
