हामफालेर किशोरकिशोरीले गरे आत्महत्या, ब्यागमा भेटियो सुुसाइड नोट

हामफालेर किशोरकिशोरीले गरे आत्महत्या, ब्यागमा भेटियो सुुसाइड नोट

काठमाडौं ।  बानेश्वरको बुद्धनगरमा मृत भेटिएका दुईजना विद्यार्थीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

बुधबार साँझ ५ बजेतिर निर्माणाधीन घरबाट हामफालेर १३ र १४ वर्षका किशोरकिशोरीले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

उनीहरुले लेखेको सुसाइड नोटसमेत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मध्यबानेश्वरस्थित पाठशाला विद्यालयमा उनीहरुले छाडेका ब्यागमा भेटिएको एक डायरीमा सुसाइड नोट भेटिएको हो ।

नोटमा आमालाई सम्बोधन गर्दै आफूबाट गल्ती भएको भनिएको छ । घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । यसका लागि मध्य बानेश्वरस्थित स्कुलको कक्षा ९ मा पढ्ने अन्य सहपाठीसँग प्रहरीले सोधपुछ थालेको छ ।

मृतक दुवैजना पेप्सिकोलामा बस्दै आएका थिए । दुबै जना स्पोर्टस् ड्रेसमा बुधबार स्कुल आएका थिए । तर साँझ दुवै गम्भीर घाइते अवस्थामा बद्धनगरमा भेटिएका थिए । घरमा काम गर्ने मजदुरहरुले उनीहरु माथि जाँदै गरेको देखेका थिए ।

त्यसैले प्रारम्भिक जाँचमै उनीहरुले आत्महत्या गरेको हुनसक्ने देखिएको थियो । अनुसन्धान अधिकृतहरुका अनुसार हालसम्म उक्त घरमा अन्य व्यक्तिको प्रवेश देखिएको छैन र शंकास्पद विषय देखिएका छैनन् ।

प्रहरीले उनीहरु युएन पार्क वा अन्त कतै घुम्न गएर फर्किएको हुनसक्ने अनुमान गरेको छ । त्यही क्रममा फर्किएर आउँदा बाटोमा देखेको निर्माणाधीन घरमा चढेर हामफालेको हुनसक्ने अनुसन्धानले देखाएको छ ।

 


Thali Mobile Pvt.Ltd.