काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिकामा बेच्ने र करोडौं असुली गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई बुधबार बिहान चाबहिल, मनमैजुस्थित निवासबाटै उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवं पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी फरार रहेकाले खाँण पनि भाग्न सक्के आशंका गरेर प्रहरीले अदालतबाट जरुरी पक्राउ पूर्जी लिएर थमाएको थियो ।
त्यसपछि प्रहरीले आफ्नो तालुक मन्त्रालयका पूर्वमन्त्रीलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकु लग्यो । प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको कार्यकक्षमा राखेर उनलाई प्रारम्भिक सोधपुछ गरियो । परिसरबाट अपराह्न ३ बजे प्रहरी भ्यानमा निकालिएका उनलाई प्रहरीले सुरुमा वीर अस्पताल लगेर स्वास्थ्य जाँच गरायो ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश उत्तम सिलुवालले बहस सुनेपछि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दियो । १९ वैशाखमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेर अनुसन्धान थाल्यो त्यसपछि भिभिआइपीको संलग्नता खुल्यो ।
त्यसलगतै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे । खाँणको पालामा गृहसचिव रहेका पाण्डे पक्राउ परेसँगै प्रकरणमा खाणपनि तानिए । खाँणले आर्थिक लाभ लिएर ठगी गर्ने गिरोहलाई नीतिगत तहमा सहयोग गरेको देखिएकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको अधिकारीको भनाइ छ ।
भुटानी शरणार्थीबारे पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन मन्त्रालयबाटै गायब भएको छ । भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न भन्दै गृह मन्त्रालयले ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गरेको थियो ।
गिरोहले बादल गृहमन्त्री भएकै बेला सल्लाहकार इन्द्रजित राईहरुमार्फत पन्थी कार्यदलको प्रतिवेदन हात हत्याएका थिए । निष्कर्ष खण्डदेखि अनुसूची थपघट गरेर पीडितहरुसमक्ष पठाएका थिए । तर त्यसलाई मन्त्रालयकै आधिकारिक डकुमेन्टका रुपमा राख्ने काम भने खाँण गृहमन्त्री भएको बेलामा भएको देखिएको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।
तत्कालीन गृहसचिव पाण्डे र खाँणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत रकम बुझेको प्रहरीको प्रारम्भिक आशंका छ । ठगी गर्ने गिरोहका एक जना सदस्य सानु भण्डारीले पाण्डेमार्फत मात्रै एक करोड २५ लाख रुपैयाँ बुझाएको र खाँणको निर्देशनमा यो काम भएको बयान दिएका छन् । बयान दिनेहरुले खाँण पत्नी मञ्जुले समेत रकम बुझेको बताएका छन् ।
यता प्रहरीसम्म पुगेको अडियो सम्वादमा पनि मञ्जु खाँणलाई रकम बुझाएको सुनिएको छ । यसबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ । भुटानी शरणार्थी प्रकरणमा हालसम्म ११ जना पक्राउ परेका छन् । १२ चैत २०७९ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
यसको तीन दिनपछि मोरङका सागर राई पक्राउ परेका थिए । १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका राई पक्राउ परे । २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे ।
एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप केसी पक्राउ परे । मंगलबार रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको प्रहरीले बुधबार पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय नरेन्द्र केसीलाई पक्राउ ग¥यो । प्रकरणमा एमाले सचिव रायमाझी र पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध अदालतलबाट पक्राउ पूर्जी जारी भएको छ ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । खाणकाबारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज बस्ने बैठकले खाणलाई निलम्बन गर्ने बताइएको छ ।
