१३औँ राष्ट्रपति रनिङ शिल्ड वैशाखमा

१३औँ राष्ट्रपति रनिङ शिल्ड वैशाखमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वैशाखमा हुने भएको छ । आगामी वैशाख ७ देखि ९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुने भएको छ ।

सातै प्रदेशबाट जम्मा छ सय ५८ खेलाडीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिए । एथलेटिक्समा एक सय ५४, भलिबल र कबड्डीमा समान एक सय २६ तथा कराँते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडीले भाग लिने छन् ।

जम्मा ५२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा दुई, कराँते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्ण पदकका लागि भिडन्त हुनेछ । व्यक्तिगत, समूहगत, शीर्ष तीन स्थान हात पार्ने टिम र राष्ट्रिय कीर्तिमान गरी प्रतियोगिताको कूल पुरस्कार राशि रु नौ लाख ८५ हजार रहेको छ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराँते सातदोबाटोस्थित कराँते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइने छ ।

सात सय ५३ स्थानीय तह, जिल्ला र प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड हुनेछ । प्रतियोगिताको हरेक खेलबाट उत्कृष्ट खेलाडी छनोट गरी विशेष प्रशिक्षणमा राखिने प्रमुख शर्माले बताए ।प्रतियोगितालाई सफलतापूवर्क सम्पन्न गर्न राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.