काठमाडौं । राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीलाई सजाय निर्धारण गरेको छ । यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई विशेष अदालतले जनही आठ वर्ष कैद सजाय सुनाइएको छ । एक उपसचिवलाई साढे दुई वर्ष कैद, दुई लेखा अधिकृतलाई नौ वर्ष कैद सजाय तोकिएको छ ।
न्यूनतम साढे दुई वर्षदेखि नौ वर्षसम्म कैद र बिगोको दोब्बर जरिवाना असुलको आदेश भएको विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए । फागुन ३० गते कसुर ठहर गरेको विशेषले अदालतले दुई फरक–फरक मुद्दामा गरी ११ जनालाई दोषी ठहर गरेको थियो ।
सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा चार उपसचिव, दुई अधिकृत र पाँच सहायकस्तरका कर्मचारीलाई दोषी ठहर गरेको हो । अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई अदालतले दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बुधबार सजाय निर्धारण गरेको हो । इजलासले उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार रुपियाँ बिगो र बिगोको दोब्बर जरिवाना गरेको छ ।
यस्तै उपसचिव विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद तथा पाँच करोड ८३ लाख ९२ हजार रुपियाँ बिगो असुलको आदेश गरेको छ । उपसचिव नयराज नेपाललाई आठ वर्ष कैद र छ करोड १७ लाख ६४ रुपियाँ बिगोको आदेश गरेको छ । दुवैसँग बिगोको दोब्बर जरिवाना असुलको आदेश गरेको हो ।
लेखा अधिकृत कुमार कटवाललाई छ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपियाँ बिगो, टीकाराम अधिकारीलाई नौ वर्ष कैदको आदेश गरेको छ । अधिकारीलाई १४ करोड सात लाख ९६ हजार रुपियाँ बिगो असुलीको आदेश गरिएको छ भने बिगोको दोब्बर जरिवाना तोकेको छ ।
लेखा अधिकृत सुरेश अधिकारीलाई नौ वर्ष कैद तथा १५ करोड तीन लाख ९९ हजार ९८६ रुपियाँ बिगो, लेखापाल देवराज नेपाललाई आठ वर्ष छ महिना कैद र ११ करोड २२ लाख ६३ हजार रुपियाँ बिगो असुलको आदेश गरेको छ । लेखापाल रुद्रप्रसाद दाहाललाई आठ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपियाँ बिगोको आदेश गरेको छ ।
राजस्व हिनामिनाकै अर्को मुद्दामा अदालतले उपसचिव होमनाथ भट्टराईलाई साढे दुई वर्ष कैद र १४ लाख पाँच हजार रुपियाँ बिगो असुलको आदेश गरेको छ । यस्तै उपसचिव विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगोको आदेश गरेको छ ।
लेखा अधिकृत सुरेशप्रसाद अधिकारीलाई आठ वर्ष कैदको आदेश गरिएको छ भने दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगो र बिगोको दोब्बर जरिवानाको आदेश गरेको छ । लेखापाल मणिराज दाहाललाई आठ वर्ष कैदको आदेश दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगो र दोब्बर जरिवाना तोकेको छ ।
सहलेखापाल टङ्कबहादुर खड्कालाई आठ वर्ष कैद, दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगो तथा दोब्बर जरिवाना तोकेको छ । पहिलो मुद्दा २०७४ असार ४ गते दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७१÷७२ देखि २०७३÷७४ सम्मको राजस्व हिनामिना गरेको आरोपमा पहिलो मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा कुल ६१ करोड २१ लाख २८ हजार ५५५ रुपियाँ बिगो कायम गरिएको छ । यस्तै अख्तियारले दोस्रो मुद्दा २०७४ मङ्सिर १२ गते दायर गरेको थियो । दुई आर्थिक वर्षको राजस्व कम दाखिला गरी हिनामिना गरेको आरोप पछिल्लो अभियोगपत्रमा थियो । कुल आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ राजस्व हिनामिना भएको ठहर अख्तियारको छ । दुई मुद्दामा ७० करोडभन्दा बढी राजस्व हिनामिना भएको थियो ।
