काठमाडौं । खाद्यान्नमा परनिर्भर भइरहेको अवस्थामा सरकारले खाद्यान्नमा आत्मनिर्भर बनाउँने अभियानस्वरूप १९औं राष्ट्रिय धान दिवस बनाएको छ । खाद्यान्न आयात बढ्दो क्रममा रहेको भन्दै पछिल्लो समय चामलमात्र नभई मकै, गहुँ, कोदो, फापरलगायत खाद्यवस्तु समेत आयात हुन थालेको सरोकारवालाले बताएका छन् । खाद्यान्नसँगै कृषि मेसिनरी र आयातको हिस्सा डरलाग्दो अवस्थामा रहेकाले अब नेपाललाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा छलफलको खाँचो रहेको खुमलटारमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
ठूला मेसिनरी उपकरण आयात नेपालको बाध्यता भएको भन्दै अब सामान्य कुटो–कोदालो भन्दा मेसिनरी उपकरणकासाथ उत्पादनलाई बढावा दिनुपर्ने उनीहरले बताएका हुन । किसानले समयमै मल बिउ, विषादीलगायत सामाग्री प्राप्त नगर्नुमा ठेकेदारको दोष देखाए । कर्णाली विशेषगरी गरिव हुनुमा बाँझो जमिन भएको कृषिमन्त्री महेन्द्रराय यादवले बताए । अब नेपाली किसानले आत्मनिर्भर खेतीलाइ प्राथमिक्ता दिनुपर्ने जिकिर गरे ।
कार्यक्रममा बोल्ल अन्य वक्ताहरुले कागजमा मात्रै आत्मनिर्भर अभियान थालेकाले देश हरेक क्षेत्र परनिर्भर हुँदै गएको तर्क गरे । आफ्नै देशमा हरेक कृषि औजार, मल कारखाना खोलेर सरकारले कृषि मेसिनरीमात्र आयात गर्नुपर्ने सुझाव दिए । नेपालमा कुल ४० लाख मेट्रिक टन चामलको माग भइरहेको रहेको सरकारी तथ्यांक छ ।
हाल ३४ लाख मेट्रिक टनमात्रै उपलब्ध नेपालमा उत्पादन हुने गरेको सरोकारवालाको दावी छ । चामल आयातमा करिब ३० अर्बभन्दा बढी रकम विदेशिने गरेको उनीहरुको तर्क छ । नेपालको प्रमुख खाद्यान्न बाली मध्य धान पहिलो हो । कुल गार्हथ्य उत्पादन (जिडिपी)मा धानको योगदान महत्वपूर्ण छ । जिडिपीमा कृषिको करिब २५ प्रतिशत हिस्सा मध्य धानको योगदान १५ प्रतिशत रहेको धान विशेषज्ञको दावी छ ।
नेपालमा धान चामल खानाबाहेक सांस्कृति कार्यमा समेत प्रयोग हुने गरेको भन्दै मोटा धान उत्पादन अधिक हुने तर नेपालीहरुले मसिना चामल उपभोग गर्ने कारण चामल आयात बढ्न गएको बाली विकास तथा कृषि जैविक विविधिता संरक्षण केन्द्रको धारणा छ । कुल आयातको करिब ८० प्रतिशत मसिना धान चामल आयात हुनेगरेको केन्द्रले जनाएको छ ।
भिडियाे हेर्नका लागि यहाँ क्लिक गराैं…
कहाँ कहाँ प्रयोग हुन्छ त चामल ?
कुल उत्पादनको २० प्रतिशत धान पशुदाना, वियर र रक्सीलगायत उत्पादनमा प्रयोग हुने गरेको तथ्य छ । चामलको आयात प्रतिस्थापनका लागि उत्पादन बढाएर ७२ लाख मेट्रिक टन पु¥याउनुपर्ने र मसिना धानको उत्पादन बढाउनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को ठहर छ ।
हाल कुल उत्पादन ५६ लाख मेट्रिक टनमात्रै रहेको र माग ७२ लाख मेट्रिक टन रहेको नार्कका धानविज्ञ बताउँछन् । ७२ लाख मेट्रिक टन उत्पादन भएमा खाना, मदिरा उद्योग, घरेलु रक्सी, बिउलगायतको माग आपूर्ति हुनसक्ने विज्ञको भनाइ छ । बिउका लागि मात्रै वार्षिक ६७ हजार मेट्रिक टन धानको माग हुने गरेको रबिउका लागि वार्षिक एक अर्ब ३८ करोडको धान आयात हुने गरेको नार्कले जनाएको छ ।
माग आपूर्तिका लागि किसानले थप १६ मेट्रिक टन धान उत्पादन बढाउनुपर्ने निष्कर्ष नार्कको छ । किसानले रैथाने धानलाई जोड दिदै जानुको सट्टा हाइब्रीड बिउ प्रयोग गर्न थालेपछि नार्कले नेपालमै धानको हाइब्रीड जात विकास गरेको धानविज्ञको भनाइ छ । हाल नेपालमा विभिन्न बिउबिजन कम्पनीले हाइब्रीड जातको उत्पादन सुरु गरेका छन् भने नार्कले पनि उत्पादन गरिरहेको जनाएको छ ।
नार्कले हर्दिनाथ हाइब्रीड धान १ र ३ किसानका लागि सिफारिश गरेको जानकारी दिएको छ । नार्कले हालसम्म धानका ९७ जात विकास गरिसकेको छ भने ७२ जात किसानले प्रयोग गरिेहहेका दावी गरेको छ । नार्कले विकास गरेका केही जात भारतीय किसानलेसमेत प्रयोग गर्दै आएको बताएको छ ।
भिडियाे हेर्नका लागि यहाँ क्लिक गराैं…
परनिर्भता रोकौं
बढ्दो जनसंख्या वृद्धिका कारण धान चामलमा परनिर्भरता बढेको भन्दै विज्ञले धान उत्पादनको वृद्धिदर बढाउनुपर्ने बताएका छन् । खेतीयोग्य जमिन खण्डीकरण तथा घडेरीकरण, श्रम शक्ति विदेशीनु, मलको अभाव, सिँचाइ, भण्डारण तथा बजार पूर्वाधारको कमी प्रमुख कारण रहेको कृषि विभागको भनाइ छ ।
गुणस्तरीय बिउ अभाव तथा नयाँ जातभन्दा पुरानै जात कृषकको रोजाइमा पर्नु, बिउ तथा जात फेर्ने परिपाटी विकास नहुनु, मसिना तथा बासनादार चामल उपयोगमा वृद्धि तथा खाद्यान्न बालीको उपयोगमा विविधीकरण नुहुनु, आयातीत धानको गुणस्तर र मूल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नु नै आयात बढ्नुको कारण रहेको कृषि विभागले जनाएको छ ।
नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा समेत महत्वपूर्ण बालीका रुपमा धानलाई लिइन्छ । कुल क्षेत्रफलको ४७.७ प्रतिशत जमिनमा धान खेती गरिन्छ । जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतबढी छ । खाद्यान्न बाली उत्पादनको कुल क्षेत्रफलको करिब ४५ प्रतिशतमा धान खेती हुने गरेको धान विज्ञको भनाइ छ ।
कुल खाद्यान्न बाली उत्पादनमा ५० प्रतिशतभन्दा बढी धानको हिस्सा रहेको दावी उनीहरुको छ । करिब १० प्रतिशत क्षेत्रफल रैथाने तथा स्थानीय धानका जातले ओगटेको छ भने रैथाने जात जलवायु अनुकुलित हुनुका साथै पोषणयुक्त एवं रोग कीरा सहनसक्ने भएकाले खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण मानिने विभागले जनाएको छ ।
विश्वमा धान मकैपछिको दोस्रो महत्वपूर्ण खाद्यान्न बालीका रुपमा रहेको छ । विश्वमा करिब १६ करोड ४१ लाख ९० हजार हेक्टरमा धान खेती भई ७५ करोड ५४ लाख मेट्रिक टन उत्पादन हुने गरेको र कुल उत्पादनमध्ये ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकमै हुने गरेको कृषि विभागले जनाएको छ ।
विश्वमा सबैभन्दा बढी धान उत्पादन चीनमा हुने रहेको छ भने त्यसपछि भारत, इण्डोनेसिया, बंगलादेश, भियतनाम उत्पादन हुने गरेको छ । धान उत्पादन गर्ने मुलुकमा नेपाल १६औं स्थानमा रहेको सरोकारवालाले बताएका छन् ।
