३० वैशाखमा मतदानः सबै स्थानीय तहको मतगणना छ दिनभित्र सकाउने आयोगको रणनीति

३० वैशाखमा मतदानः सबै स्थानीय तहको मतगणना छ दिनभित्र सकाउने आयोगको रणनीति

काठमाडौं । मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगले रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने रणनीति बनाएको हो ।

अधिकतम जनशक्ति खटाएर भएपनि छिटोभन्दा छिटो मतगणना गर्ने योजना निर्वाचन आयोगको छ । मतगणनाका लागि अधिकतम जनशक्ति खटाउन पनि महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगले जनाएको छ । पहिलो स्थानीय तह निर्वाचन ३१ वैशाख २०७४ भएको थियो ।

निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था अनुसार देशभरका स्थानीय तहका जनप्रतिनिधिहरु ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ । उनीहरुको विदाई हुनुअघि नै नयाँ जनप्रतिनिधि निर्वाचित भएर पदबहालको व्यवस्था मिलाउन आयोगले खोजेको हो ।

६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । सबैभन्दा बढी काठमाडौं महानगरपालिकामा ३ लाख मतदाता छन् । ललितपुर महानगरपालिकामा १ लाख २३ हजार, भरतपुर महानगरपालिकामा १ लाख ८६ हजार, पोखरा महानगरपालिकामा २ लाख ८ हजार, वीरगञ्ज महानगरपालिकामा १ लाख २४ हजार र विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता रहेका छन् ।

२०७४ सालमा पहिलो चरणको स्थानीय तह निर्वाचन ३१ वैशाखमा भएको थियो । पहिलो चरणमा नै निर्वाचन भएको काठमाडौं महानगरपालिकामा दुई सातापछि अर्थात १४ जेठमा विद्यासुन्दर शाक्य निर्वाचित भएको घोषणा गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.