काठमाडौं । भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा सरकारले कडाइ गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग नगर्न आग्रह गरेको हो । वातावरण विभागले भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्न कुनै कसुर बाँकी नराख्ने जनाएको छ ।
सरकारले २०७८ साल असोज १९ मा राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर अहिले पनि बजारमा यस्ता प्लास्टिक झोलाको बिक्री तथा प्रयोग हुँदै आएको छ । ४० माइक्रोनभन्दा पातलो झोलाले वातावरणमा प्रतिकूल प्रभाव पार्ने र जथाभाबी फाल्दा खोला तथा नदीमा प्रदूषण बढेको छ । ढल तथा पानीको निकासमा समस्या उत्पन्न गरेको छ । विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ ।
सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना प्रकाशित गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । विभागले प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा आईसकेको भन्दै कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमनमा केही खुकुलो गरिएकोमा भदौ १ देखि अनुगमन तीब्र बनाइने पनि जनाएको छ ।
विगतमा कोरोना महामारीका कारण अनुगमन हुन नसकेको तर अब भदौ एक गतेदेखि सरकारको निर्णय कार्यान्वयन गरी अटेरी गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ अनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
