भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

मुख्य बुँदा

२४ घण्टामा १४ विपद्का घटना

तीमध्ये १२ वटा आगलागी र डढेलो

आगलागीबाट तीन महिला घाइते

जनावरको आक्रमणबाट एक जना घाइते

८ पशुचौपाय क्षति, ३७ लाखभन्दा बढीको भौतिक क्षति

आगो ताप्दा विशेष सावधानी अपनाउन आग्रह

काठमाडौँ, १८ माघ । पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२ वटा आगलागी र डढेलोका रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

ती घटनामा परेर तीन जना महिला घाइते भएका छन् भने जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो समयमा आगलागीका घटना बढिरहेका बताइन् । विद्युत् सर्ट हुने, आगो ताप्दा कपडामा सल्किनेलगायत घटना भइरहेका उनको भनाइ छ ।

पछिल्लो २४ घण्टाको अवस्था हेर्दा असावधानीका कारण आगो लाग्दा तीन जना घाइते भएका महतले उल्लेख गरिन् । प्राधिकरणका अनुसार झापा, मोरङ, धनकुटा, सोलुखुम्बू, खोटाङ, सर्लाही, बारा, कपिलवस्तु, कैलालीमा आगलागीका घटना भएका छन् भने सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको एक भीरमा डढेलो लागेको छ ।

प्राधिकरणबाट प्राप्त २४ घण्टाको विवरणमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बस्ने ६७ वर्षीया महिलाको आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर पेट भन्दा तल्लो भागमा जली घाइते भएकी छिन् । शरीरको ३० प्रतिशत भाग जलेकी निजको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ की ६८ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी छिन् भने निजको ललितपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । कैलालीको धनगढी उपमहानगरपालिकाकी ८९ वर्षीया महिला आगो ताप्ने क्रममा पछाडि कपडाबाट आगो सल्किएर घाइते भएकी प्राधिकरणले जनाएको छ । निजलाई उपचारका लागि निसर्ज अस्पतालमा लगिएको छ ।

ती आगलागीबाट आठ वटा पशुचौपाय क्षति भएका छन् भने ३७ लाखभन्दा बढीको भौतिक क्षति भएको प्राधिकरणकी प्रवक्ता महतले जानकारी दिइन् । मोरङ र अछाममा भने जनावरको आक्रमणका घटना भएका छन् । अछाममा जनावरको आक्रमणबाट एक जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

यसैबिच, प्राधिकरणले आगो ताप्ने क्रममा कपडामा सल्किएर शरीर जल्ले र ज्यानै जाने घटना भइरहेकाले विशेष ध्यान दिन र सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.